नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी फागुन ११ गतेदेखि काठमाडौँको भृकृटीमण्डपमा |
काठमाडौँ । मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेण्टस्को संयुक्त आयोजनामा नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल हाउजीङ्ग एंड इनभेसटमेन्ट एक्स्पो, नेपाल हेवी इकयुपमेन्ट एंड कन्सट्रकसन एक्स्पो आयोजना हुने भएको छ । काठमाडौँको भृकृटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुने एक्स्पो फागुन ११, १२, १३ र १४ गते आइतवारसम्म सञ्चालन हुने छ ।
यस आयोजना हुन गइरहेको प्रदर्शनीमा संसारका विभिन्न देशका ३०० भन्दा बढि ख्याती प्राप्त ब्राण्डहरुका २०० भन्दा बढि स्टल रहने छन् ।
निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले निर्माण ब्यबसायसंग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधि को बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी विगत ७ वर्षदेखि कोसेढुङ्गा सावित हुदै आएको छ ।
यस अन्तराष्ट्रिय प्रदर्शनीमा निर्माण सामग्री, निर्माण मेसिनरी, निर्माण उपकरण, आवास कम्पनीहरू, अपार्टमेन्ट कम्पनीहरू, प्रि–फ्याब संरचनाहरू, युपीभीसी झ्याल ढोका उत्पादन गर्ने मेसिनरी, युपीभीसी प्रोफाइल, आर्किटेक्चरल हार्डवेयर, बाथरूम फिटिङ्स, पाइपहरू, टाइल र सेनेटरी वेयर, पावर औजारहरू, कंक्रीट ब्लक मेसिनरी उत्पादकहरू, मटेरियल ह्यान्डलिंग उपकरणहरू, एल्युमिनियम कम्पोजिट प्यानलहरू आदिको उल्लेखनीय सहभागिता रहने छ ।
यस प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ तथा नेपाल क्रसर तथा खानी उद्योग महासंघ रहेका छन् ।
त्यस्तै यस प्रदर्शनीले नेपालमा हाल भइरहेको समग्र निर्माण क्षेत्रको विकास, पुननिर्माण तथा आधुनिकीकरण मा टेवा पुर्याउने विश्वास आयोजकले राखेका छन् ।
यस प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आम नागरिक बाहेक निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्कीटेक्ट, इन्जीनीयरस्, कन्ट्रयाक्टरस, विल्डरस तथा इन्टीरीयर डिजाइनरहरु को सहभागिता रहने छ । यस अन्तराष्ट्रिय प्रदर्शनीको मुल उद्घेश्यको रुपमा विगतमा झैँ नेपालको निमार्ण क्षेत्रमा नयाँ प्रविधिका सामान भित्राउने तथा विदेशमा सफलतापुर्वक प्रयोग भएका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउने तथा नेपालमा उपलब्ध सामाग्री तथा प्रविधिहरुलाई बिदेशी संस्थाहरुको सामु देखाउने हो । साथै यस प्रदर्शनीले नेपालमा भइरहेका निर्माण सम्बन्धि कार्यहरुमा पनि सकारात्मक भुमिका निर्वाह गर्ने विश्वास आयोजकले लिएका छन् ।