शनिबार ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को फिल्ड अडिसन नेपालगन्जमा |
काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को फिल्ड अडिसन हुने भएको छ । यी दुवै कार्यक्रमहरुको फिल्ड अडिसन नेपालको विभिन्न शहर सँगै इन्डियाको सिलिगुरीमा हुने भएको छ । जसअनुसार नेपालगन्जमा फागुन ६ गते, बुटवलमा फागुन १० गते, सिलिगुरीमा फागुन १४ र १५ गते, दमकमा फागुन २० र २१ गते र काठमान्डौंमा फागुन २७ र २८ गते हुनेछ ।
अडिसन दिन आउँदा प्रतियोगीहरुले आफ्नो उमेर खुलाएको आधिकारिक कागज लिएर आउनु पर्ने हुन्छ । फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीहरुले काठमान्डौंमा आएर स्टुडियो अडिसनमा सहभागी हुनेछन् । साथसाथै देश विदेशबाट सहभागी हुन चाहनेले माई इन्ट्रा एप डाउनलोड गरेर रजिष्टर गर्न सक्नुहुन्छ । डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगीहरुले पनि अनिवार्य रुपमा फिल्ड अडिसनमा सहभागी जनाउन पर्नेछ । त्यस बाहेक ‘मेरो डान्स यूनिभर्स’को संस्कृतिक समुह विधामा सहभागी हुन चहानेले पनि एप मार्फत अडिसन दिन सक्नुहुनेछ । संस्कृतिक समुह मार्फत सहभागी हुनेले भने फिल्ड अडिसनमा उपस्थित हुन पर्नेछैन । डिजिटल अडिसनको अन्तिम मिती फेब्रुअरी २८ तोकिएको छ भने अडिसन दिने सहभागी कम्तीमा १८ बर्षको हुनपर्नेछ ।
फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारी भन्छन्, “हामी हाम्रो संस्कृति जोगाउन एकजुट भएर लाग्नुपर्छ । हाम्रो पहिचान नै हाम्रो भाषा, संस्कृति, र दुखमा परेकाहरूलाई मद्दत गर्नुमा छ । फाउन्डेसनको मुख्य उद्देश्य पनि नेपाली मनोरञ्जन क्षेत्रमा सांगीतिक क्रान्ति ल्याउनु हो।”
‘मेरो भ्वाइस यूनिभर्स’को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान जस्ता वरिष्ठ गायकहरू समावेश छन्। साथै ‘मेरो डान्स यूनिभर्स’को निर्णायक मण्डलमा भने मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बि.सी, केकी अधिकारी, प्रियंका कार्की, र नरमन राई हुने जनाइएको छ । यी शोहरु एलिन श्रेष्ठले निर्देशन गर्नेछन्। उनले यस अघि पनि धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रियालिटी शोहरुको निर्देशन गरिसकेका छन जस्तै नेपाल आइडल, बूगी—वूगी, नेपाल लोक स्टार, सारेगमपा लिल्च्याम्पस्।
यी दुई शोहरु नेपालकै सर्वाधिक धेरै धनराशी भएको रियालीटी शोहरु हुन्। फाउन्डेसनका अनुसार ‘मेरो भ्वाइस यूनिभर्स’का विजेताले नेपाली एक करोड रुपैयाँ पुरस्कार पाउनेछन्। साथै फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। यस्तै, ‘मेरो डान्स यूनिभर्स’को विजेताले पनि एक करोड रुपैयाँ पुरस्कार पाउनेछन् भने फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। डान्स यूनिभर्स’को सँस्कृतिक समुह विधाको विजेताले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। साथै फस्ट रनरअपले १० लाख रुपैयाँ र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
फाउन्डेसनले नेपाल बाहेक, म्यानमार, थाइल्याण्ड, भुटान, भारत, अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायत युरेपेली देशहरुबाट पनि नेपाली भाषीहरुको बृहत्सहभागिताको अपेक्षा राखेको छ ।
संस्थाको बारेमा
इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका, संयुक्त राज्य अमेरिका र नेपालमा दर्ता भएको एक संस्था हो जस्ले नेपाली संस्कृतिलाई विश्वभर प्रवर्द्धन गर्ने काम गर्छ । फाउन्डेसनले नेपाली संस्कृतिलाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्न धेरै परियोजनाहरुमा काम गरिरहेको छ । ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ फाउन्डेसनकाले सञ्चालन गर्न लागेको नयाँ कार्यक्रमहरू हुन्जुन नेपालको चाँडै प्रसारण हुने प्रक्रियामा छ । यसका साथै फाउन्डेसनले आफ्ना परियोजनाहरू मार्फत ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका तथा सीमान्तकृत समुदायका व्यक्तिहरूलाई पनि सहयोग गर्ने लक्ष्य राखेको काम गरिरहेको छ ।
हाल, फाउन्डेसनले विभिन्न स्थानमा रहेका कार्यालयहरू मार्फत नेपाली भाषी समुदायहरूमा खेलकुद, स्वास्थ्य, शिक्षा र राहत वितरणलाई जस्ता विविध क्षेत्रमा काम गरिरहेको छ । फाउन्डेसनले ‘मेरो भ्वाइस युएसए’ र ‘मेरो डान्स युएसए’ गरी दुई फरक रियालिटी शोहरू आयोजना गर्दै आएको छ जुन क्रमशः दुई र चार सिजन सफलतापूर्वक सञ्चालन भएका छन्। फाउन्डेसनले प्रसिद्ध शिक्षकहरूको नेतृत्वमा निःशुल्क नृत्य तथा गायन कक्षा पनि सञ्चालन गर्दै अएको छ । यी कक्षाहरुबाट करिब पाँच सय विद्यार्थी लाभान्वित भइरहेका छन्। त्यसैगरी, फाउन्डेसनले अमेरिकामा रहेका नेपाली भाषी समुदायहरुमा फुटबल, क्रिकेट, स्नेकर र भलिबल जस्ता विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको छ ।
फाउन्डेसनले नेपालका विभिन्न शरणार्थी शिविरमा रहेका भुटानी शरणार्थीहरूको जीवनशैलीलाई उकास्न सक्रिय रूपमा काम गरिरहेको छ । यी शिविरहरुमा फाउन्डेसनले ज्येष्ठ नागरिक भत्ता, शिक्षा, खानेपानी र खेलकुद जस्ता क्षेत्रहरुमा सहयोग गर्दै आएको छ ।