गोंगबुमा भएको लुटपाटप्रति नेपाल उद्योग वाणिज्य महासंघकाे आपत्ति | लुटपाट गर्नेलाई पक्राउ गरी सजाय दिन र पीडित व्यवसायीलाई क्षतिपूर्ति प्रदान गर्न माग
काठमाडौं । यातायात मजदुरहरुको प्रदर्शनको क्रममा फागुन १ गते काठमाडौं गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रमा भएको लुटपाटको घटनाप्रति बागमती प्रदेशको नेपाल उद्योग वाणिज्य महासंघले आपत्ति जनाएको छ ।
बागमती प्रदेशकाे नेपाल उद्योग बाणिज्य महासंघले यस्तो घटना लोकतान्त्रिक गणतन्त्र नेपाल जस्तो देशमा हुनु निश्चय नै गम्भीर र आश्चर्यजनक रहेको महासंघले जनाएको छ । राज्य प्रशासन र कानूनलाई ठाडै चुनौती दिँदै दिनदहाडै भएको यो घटनाले मुलुकको शान्ति सुरक्षामा गम्भीर प्रश्न उब्जिएको महासंघले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
"बीच शहरको माझ प्रहरीकै सवारी साधन आगजनी गरिनु, पसलहरु तोडफोड गरी लुटिनु, सर्वसाधारणहरु हात उठाएर हिडनुपर्ने अवस्था सिर्जना हुनुपर्दा कतै हामी द्वन्दग्रस्त मुलुकमा पो छौं कि भन्ने सम्मको स्थितिको सामना आमसर्वसाधारणले गर्नुपरेको छ," विज्ञप्तीमा लेखिएको छ ।
"शान्तिपूर्ण आन्दोलन, जुलुस, प्रदर्शन गर्न पाउने अधिकार जो कसैलाई छ तर सोही आन्दोलनको निहुँमा कसैको पनि व्यक्तिगत व्यवसायमाथि तोडफोड र लुट मच्चाउने अधिकार कसैको पनि छैन र हुनु हुँदैन पनि । एउटाको अधिकारको लागि लड्दै गर्दा अरु कसैको अधिकार माथि खेलवाड हुनु हुँदैन । नयाँ बसपार्क क्षेत्रमा भएको यो घटना एउटा नजिरको रुपमा स्थापित हुन गएको छ । यसले भोलिका दिनमा सचेत रहनुपर्ने तीतो पाठ पनि सिकाएको छ, " थप भनिएकाे छ ।
कोभिड १९ को प्रकोप, चर्को बैंक व्याजलगायतका कारण धराशायी हुँदै गईरहेको उद्योग व्यवसाय क्षेत्र यी र यस्ता घटनाहरुले थप प्रभावित हुने निश्चित भएकाे महासंघकाे भनाइ छ । स्व. प्रेमप्रसाद आचार्यको आत्मदाहको घटना सेलाउन नपाउँदै यस्ता घटना घट्नुले अब निजी क्षेत्रले पनि गम्भीर भएर सोच्नु पर्ने अवस्था सिर्जना भएको र राज्यलाई कर तिरेर निर्धक्क साथ व्यवसाय संचालन गर्न पनि नसक्ने स्थिति सिर्जना हुन निश्चय पनि पीडादायक हुने महासंघले बताएकाे छ ।
यो तोडफोड र लुटपाटको घटनाको घोर भर्त्सना गर्दै यस्ता लुटपाटमा संलग्न जो कोहीलाई पनि पक्राउ गरी उचित सजाय दिन र पीडित व्यवसायीहरुलाई आवश्यक क्षतिपूर्ति प्रदान गर्न नेपाल उद्योग वाणिज्य महासंघ -बागमती प्रदेश नेपाल सरकार समक्ष माग गरेको छ । यसका साथै उद्योगी व्यवसायीहरुले निर्धक्क साथ आफ्नो व्यापार व्यवसाय गर्ने वातावरण तयार गरिदिन पनि महासंघका अध्यक्ष दिल सुन्दर श्रेष्ठले अनुरोध गरेका छन् ।