१६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला ׃ घरेलु उत्पादन र अल्लोको कपडामा दर्शकको ध्यान |
काठमाडौं । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले मङ्गलबारदेखि राजधानीमा शुरु गरेको नेपाल १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङगारिक कृषि मेला–२०७९” को दोस्रो दिन घरेलु उत्पादन र अल्लोका कपडामा दर्शकको आर्कषण देखिएको छ ।
अल्लोबाट दैनिक प्रयोजनको लागि बनेका टोपी, झोला, बेल्ट, कोट स्टकोट, जुहारी कोट लगायतका सामाग्रिहरुले मेलामा आएका दर्शकको ध्यान खिचेको छ ।
कृषि उद्यम व्यवसायहरू, हाते तानबाट ढाका कपडा बुन्ने, चिउरा कुट्ने, रेशम तथा फेल्ट उत्पादनको प्रविधिमा पनि दर्शकले रुचीपूर्वक अवलोकन गरिरहेका छन् ।
जाडोमा तातो र गर्मीमा सितल दिने, प्रेसर, सुगर कन्ट्रोल गर्ने तथा एलर्जी निको पार्ने औषधिय गुण भएको अल्लोको सामाग्रिहरु दर्शकको रोजाइमा परेका हुन ।
त्यस्तै मेलामा घरेलु उत्पादन र किसानका स्टलमा आगन्तुकको आकर्षण देखिएको छ । यसले किसानले उत्पादन गरेका सामग्री र स्थानीय उत्पादनको प्रचारप्रसार हुने विश्वास छ । पहाडी गेडागुडी, अचार, मह, वाइनलगायत स्थानिय उत्पादन दर्शकको रोजाइमा परेका छन् । तामा, फलामका भाँडा किनमेल गर्नेको पनि कमि छैन ।
नेपालको अर्गानिक उत्पादनलाई निर्यातमुखी बनाउन र अन्तर्राष्ट्रिय व्यवसायीहरुलाई समेत आकर्षित गर्न अर्गानिक उत्पादनलाई नेपाल सरकारले प्रोत्साहन गरिरहेको छ । यस्ता उत्पादनहरु उपभोग गर्न उपभोक्ताहरु समेत जागरुक रहेको परिप्रेक्ष्यमा अर्गानिक उत्पादनहरुका बारेमा आम नागरिकलाई सचेतना गराउने र सहज रुपमा अर्गानिक उत्पादनहरु उपलव्ध गराउन यस्ता उत्पादनको बिक्री वितरणलाई सहयोग पुर्याउने उद्देश्यका साथ अर्गानिक एसोसियसनसँगको सहकार्यमा कृषिका अर्गानिक उत्पादनहरुको छुट्टै प्याभिलियन मार्फत प्रदर्शनी गरिने व्यवस्था गरिएको मेला संयोजक शोभा गुरुङले बताइन ।
अर्गानिक उत्पादनहरुको बारेमा आम नागरिकमा जानकारी दिदै त्यस्ता उत्पादनको प्रवद्र्धन गरी अर्गानिक अभियानलाई टेवा पुर्याउन उत्पादक र उपभोक्ताको साझा मञ्चको विकास गरी अर्गानिक उत्पादनको बजार प्रवद्र्धन गर्ने र शुद्ध भोजन स्वस्थ्य जीवनको भन्ने जनचेतना अभिबृद्धि गर्ने लक्ष्य प्राङगारिक कृषि मेलाको रहेको छ । नेपालको अर्गानिक तथा प्राकृतिक कृषि उपजहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरणमा टेवा पुर्याउने, उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याई मूल्य अन्तरलाई न्यूनीकरण गर्दै सुपथ मूल्यमा अर्गानिक उत्पादनहरु उपलव्ध गराउने, अर्गानिक विषयहरुमा सरोकारवालाहरुसँग अन्तरक्रिया आदि गरिने अर्गानिक कृषि मेलाको उद्देश्य रहेको छ ।
प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने छ ।
प्रदर्शनीमा २०० वटा स्टलको व्यवस्था हुने र दुई लाख भन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ । सात करोड रुपियाँभन्दा बढीको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको महासंघका महासचिव डम्बर प्रसाद रेग्मीले बताए ।