तरलता अवस्था सहज बनाइराख्न ३० अर्ब बजारमा पठाउँदै केन्द्रीय बैंक |
काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा तरलता घटेसँगै यसलाई व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बुधबार रिपोमार्फत बैंकिङ प्रणालीमा ३० अर्ब रुपैयाँ पठाउने भएको छ । यसअघि बजारमा पठाएको रिपोको परिपक्व अवधि सकिएपछि वित्तीय प्रणालीमा तरलतामा कमी देखिएको छ । सोही कारण राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बजारमा पठाउन लागेको हो ।
केन्द्रीय बैंकले आज फागुन ३ गते रिपोको बोलकबोल गर्दैछ । रिपोमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो ३ बजेसम्म बिडिङ गर्नुपर्नेछ । रिपो बुधबार नै जारी हुनेछ । राष्ट्र बैंकले १४ दिनका लागि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुलाई रिपो जारी गर्न लागेको हो ।
यो रिपो फागुन १७ गते परिपक्क हुनेछ । बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार अल्पकालीन अवधिको तरलता प्रवाह गर्न केन्द्रीय बैंकले रिपो जारी गर्दै आएको छ ।
यसअघि गत पुस दोस्रो साता ४५ दिनका लागि रिपोमार्फत ५० अर्ब रुपैयाँ बजारमा पठाएको थियो । उक्त रिपोको म्याद गत माघ मसान्तमा सकिएपछि पैसा राष्ट्र बैंकमा फर्किएको थियो । यही कारण बजारमा देखिएको तरलतामा कमीको अवस्था व्यवस्थापनकै लागि राष्ट्र बैंकले थप रकम बजारमा पठाउन लागेको हो ।