कर्पोरेट डेभलपमेण्ट बैंकले बोलायो साधारण सभा |
काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंक लिमिटेडले फागुन २२ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । माघ २० गते बसकेको सञ्चालक समितिको बैठकले बैंकको प्रधान कार्यालय, वीरगञ्ज, पर्सामा विहान ७ः१५ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ५० करोडको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बोनसपछि कम्पनीको चुक्तापूँजी रू. ५२ करोड ५० लाख कायम हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव समेत सभाले पारित गर्नेछ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभामार्फत हुनेछ । सञ्चालक समितिको संख्या ९ बाट ७ गर्नुपर्ने भएकाले सञ्चालक समितिलाई सोही बमोजिम गर्न गराउन अख्तियारी दिने कार्यक्रम पनि सभाका लागि तय भएको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १० गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा अघिल्लो कारोबार दिन फागुन ९ गते सार्वजनिक विदा पर्ने भएकाले फागुन ८ गतेसम्म कायम शेयरधनीहरू लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।