१४औँ राष्ट्रिय बाल नाटक महोत्सवको उद्धाटन, २८ नाटक समावेश |
काठमाडौँ । १४औँ राष्ट्रिय बाल नाटक महोत्सवको उद्धाटन भएको छ । शैली थिएटर, रुसी सदनको आयोजनामा संस्थागत विद्यालय संघ नेपाल (इसान) को सहकार्यमा महोत्सव सम्पन्न हुन लागेको हो ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभाको सांसद सोविता गौतमले नाट्य जगतलाई जोगाइराख्न शैली थिएटरले गरेको प्रयासलाई आत्मसात गर्न आवश्यक रहेको बताइन् ।
त्यस्तै, १४औँ राष्ट्रिय बाल नाटक महोत्सवका डाइरेक्टर नवराज बुढाथोकीले शैली थिएटरको इतिहास भन्दा पनि कामको कुरा गर्न आवश्यक रहेको बताए । उजले बालनाटक महोत्सव गरिरहदाँ धेरैको प्रश्न किन बालबालिकाको लागि गरिराछस् भन्ने रहेको बताउँदै उनले भने,‘बालबालिकाको क्षेत्र हेपिएको र पिछडिएको भएकाले म जसरी हुर्के जुन बालमनोविज्ञानमा हुर्के त्यो भन्दा पनि अहिलेका बालबालिकाहरूलाई फरक बालमनोविज्ञानमा हुर्काउन अगाडि बढाउन आवश्यक रहेकाले आफुले गरेका कामहरूको पछिसम्म पनि छाप छोड्ने भएकाले बालबालिकाको क्षेत्रमा काम गर्न आवश्यक छ ।’
विगत १३ वर्षदेखि शैली थिएटरले आयोजना गर्दै आइरहेको नाटकको १२ र १३औँ महोत्सव भर्चुअल रूपमा सम्पन्न गरिएको थियो । त्यसैगरी १४औँ बालनाटक महोत्सव नौँ दिनसम्म सञ्चालन गर्ने तयारी रहेको र महोत्वमा २९ वटा विभिन्न विधाका नाटकहरू समावेश रहेको शैली थिएटरका कार्यकारी संयोजक सविन न्यौपानेले बताए।
विगतका दुई वर्षहरूमा अनलाइन माध्यमबाट भर्चुअल महोत्सव गरेको शैलीले यस पटक प्रतियोगि र अप्रतियोगि नाटक प्रस्तुत गर्दैछ । शैली थिएटरका कार्यकारी संयोजक सविन न्यौपानले भने, ‘छनोट भएर मञ्चनमा लगिएका नाटकहरूलाई मञ्चनकै अविधमा विज्ञहरुको निर्णायक टोलीले विभिन्न पक्षबाट मूल्याङ्कन गरी ७ वटा पुरस्कारहरु दिईने छ । भने, अप्रतियोगि नाटकको लागि विशेष सम्मान गरिने छ र सहभागि सम्पूर्णलाई प्रमाणपत्र वितरण गरिनेछ ।’
बाल नाटक महोत्सवमा प्रतियोगि र अप्रतियोगी गरेर जम्मा २९ वटा नाटक समावेश भएका छन् भने काठमाडौं उपत्यका र बाहिरी जिल्लाहरूबाट पनि नाटक समावेश भएको छ । उक्त नाटक महोत्सवमा सयौं विद्यार्थीहरू सहभागी हुने शैली थिएटरका कला निर्देशक बिबेक न्यौपानेले जानकारि दिए ।