६ जना उत्कृष्ट आर्थिक समाचारलाई कुल तीन लाख एक हजार राशिको सेजन अवार्ड |

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले ६ जना आर्थिक पत्रकारहरुलाई विभिन्न विधामा अवार्ड प्रदान गरेको छ। पाँच विधामा प्रदान गरिएको पुरस्कारहरुको कुल राशि तीन लाख एक हजार रुपैयाँ रहेको छ । आइतवार काठमाडौंमा आयोजित एका कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उनीहरुलाई पुरस्कार प्रदान गरेका हुन्।
एक लाख पुरस्कार राशिको सेजन अवार्ड अन्नपूर्ण पोष्टका ममता थापा र सुरेन्द्र काफ्लेले संयुक्त रुपमा पाएका छन् । उनीहरुले संयुक्त रुपमा लेखेको ‘बिहानीपख जब पूर्व नासुले बजेट चलाए’ शीर्षकको समाचार सर्वोत्कृष्ट घोषित भएको निर्णायक समितिका संयोजक तथा सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानले जानकारी दिए।
सेजन छापामाध्यम अवार्ड टक्सार म्यागजिनका सम्पादक गजेन्द्र बुढाथोकीले पाएका छन् । उनले ‘कोकाकोला किनबेचमा कर छली’ शिर्षकमा रिपोर्टिङ गरेका थिए।
प्रसारणतर्फको सेजन ब्रोडकाष्ट मिडिया अवार्ड ग्यालेक्सी फोरके टेलिभिजनमा कार्यरत पत्रकार विनय बन्जराले पाएका छन्। वित्तिय पहुँचमा विवाद शिर्षकमा प्रसारित समाचारले सो पुरस्कार जितेको हो ।
त्यस्तै सेजन डिजिटल अवार्ड पत्रकार माधव दुलालले पाएका छन् । नेपालको पर्यटन प्रवद्र्धन भएको छैन, एयर कनेक्टीभिटी, महँगो हवाइ भाडा विषयमा प्रकाशित समाचारलाई यो अवार्ड प्रदान गरिएको हो ।
त्यस्तै स्वर्गीय डा. भोला चालिसे लिवरल जर्नालिज्म अवार्ड कान्तिपुर दैनिकका कृष्ण आचार्यले पाएका छन् । उनले पोलिसी ह्याक शिर्षकमा रिपोर्टिङ गरेका थिए।
त्यस्तै सेजनका पूर्वउपाध्यक्ष सञ्जय न्यौपाने रिसर्च ग्रान्ट कारोबार दैनिकमा कार्यरत कौशिला कँुवर सम्मानित भएकी छन्। सहकारीले घरजग्गामा लगानी गर्दा सर्वसाधरणको बचतमा कति जोखिम परेको छ भन्ने बिषयमा अनुसन्धान गरेर लेख्नका लागि फेलोसिप दिइएको छ।
सेजनले हरेक बर्ष एउटा विधामा सेजन अवार्ड वितरण गर्दै आएकोमा यो बर्षबाट सेजन अवार्डसँगै क्षेत्रगत संचारमाध्यम अनुसार अवार्ड वितरण सुरु गरेको हो । १ लाख रुपैयाँ राशीको सेजन अवार्ड र ५०–५० हजार राशीको सेजन छापा माध्यम अवार्ड, सेजन ब्रोडकाष्ट मिडिया अवार्ड (रेडियो टेलिभिजन) र सेजन डिजिटल अवार्ड (अनलाइन) प्रदान गरेको छ। संजय न्यौपाने ग्रान्ट रिसर्च एक लाख राशिको र डा. भोला चालिसे लिवरल जर्नालिज्म अवार्ड ५१ हजार रुपैयाँ राशिको रहेका छन् ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आर्थिक विधामा कलम चलाउने पत्रकारहरुको सुझावका आधारमा सरकार अघि बढ्न चाहेको बताए।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुरस्कारले आर्थिक पत्रकारहरुलाई अझ राम्रा समाचार सम्प्रेषण गर्न उत्प्रेरित गर्ने बताए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीलगायत उपस्थित थिए।