जीवन बिमा कम्पनीहरुको नाफामा आकर्षक बढोत्तरी, हेरौं कुनले कति कमाय |
काठमाडौँ । नेप्सेमा सूचीकृत ११ जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । प्रकाशित रिपोर्ट अनुसार समग्रमा बिमा कम्पनीहरुको नाफा ७०.४५% ले बढेर २ अर्ब ५ करोड ९९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसैअवधिमा भने समग्रमा १ अर्ब २० करोड ८५ लाख रुपैयाँ नाफा कमाएका थिए । जीवन बिमा कम्पनीहरुको खुद बिमा शुल्क भने १.०३% ले घटेको छ । एक वर्षको अवधिमा यिनीहरुले ५१ अर्ब २३ करोड ६९ लाख रुपैयाँ खुद बिमा शुल्क संकलन गरेका छन् ।
गत वर्ष उक्त शुल्क ५१ अर्ब ७७ करोड २१ लाख रुपैयाँ रहेको थियो । त्यस्तै, पुस मसान्तसम्ममा यिनीहरुको जीवन बिमा कोषमा कुल ४ खर्ब २५ अर्ब ५८ करोड ६२ लाख रुपैयाँ रहेको छ । गत वर्ष ३ खर्ब ४६ अर्ब ९२ करोड ७२ लाख रुपैयाँ रहेको थियो । ११ कम्पनीको जगेडा कोष १९.४०% ले घटेर ७ अर्ब ४ करोड ६७ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष जगेडा कोषमा ८ अर्ब ७४ करोड २५ लाख रुपैयाँ जम्मा रहेको थियो ।
यसअवधिमा सबैभन्दा धेरै पुँजी, जीवन बिमा कोष, बिमा शुल्क र खुद नाफा नेपाल लाइफ इन्सुरेन्सको देखिएको छ । त्यस्तै, जगेडा कोषको आकार भने सूयज्योति इन्सुरेन्सको सबै भन्दा धेरै छ । प्रतिसेयर आम्दानी भने युनियन लाइफ इन्सुरेन्सको अरुको भन्दा धेरै देखिएको छ ।
जीवन बिमा कम्पनीहरुको चुक्ता पुँजी २०.०४% ले बढ्योः नेपाल लाइफको सबैभन्दा धेरै
एक वर्षको अवधिमा ११ जीवन बिमा कम्पनीहरुको चुक्ता पुँजी समग्रमा २०.०४% ले बढेर ३६ अर्ब ५८ करोड ५६ लाख १६ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यिनीहरुको पुँजी ३० अर्ब ४७ करोड ६७ लाख ६७ हजार रुपैयाँ रहेको थियो । सबैभन्दा धेरै चुक्ता पुँजी नेपाल लाइफ इन्सुरेन्सको रहेको छ । पुस मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ पुगेको छ ।
यो गत वर्षको तुलनामा १४% ले धेरै हो । गत वर्ष यसको पुँजी ७ अर्ब १९ करोड ९९ लाख ७० हजार रुपैयाँ रहेको थियो । ४ कम्पनीको पुँजी गत वर्षकै यथावत रहेको छ । सूर्या लाइफ र ज्योति लाइफ एक आपसमा मर्ज भएर बनेको सूर्यज्योति लाइफ इन्सुरेन्सको पुँजी ७८.२४ ले बढेको छ । प्रभु र सानिमा लाइफको पुँजी सबैभन्दा कम २ अर्ब रुपैयाँ रहेको छ ।
जगेडा कोष १९.४०% ले घट्यो, सबैभन्दा धेरै रिजर्भ सूर्य ज्योतिको
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा जीवन बिमा कम्पनीहरुको जगेडा कोष १९.४०% ले घटेर ७ अर्ब ४ करोड ६७ लाख २५ हजार रुपैयाँ कायम भएको छ । गत वर्ष उक्त कोषमा ८ अर्ब ७४ करोड ४२ लाख रुपैयाँ रहेको थियो । यसअवधिमा सबैभन्दा धेरै जगेडा कोष सूर्यज्योति लाइफको देखिएको छ । यसको जगेडा २७५.०२% ले बढेर २ अर्ब ५८ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।
गत वर्ष यसको रिजर्भमा ६८ करोड ९० लाख रुपैयाँ रहेको थियो । मर्जरपछि यसको जगेडा कोषको आकार बढेको हो । यसअवधिमा ६ कम्पनीको रिजर्भ घटेको छ । सबै भन्दा धेरै युनियन लाइफको जगेडा कोष ७६.५२% ले घटेर २७ करोड ३२ लाख रुपैयाँमा झरेको छ भने सबैभन्दा कम नेसनल लाइफ इन्सुरेन्सको २६ करोड ६५ लाख रुपैयाँ बराबरको रिजर्भ रहेको छ ।
जीवन बिमा कोषको आकार २२.६७% ले बढ्यो : नेपाल लाइफ अगाडि
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ११ बिमा कम्पनीहरुको बिमा कोषको आकार २२.६७% ले बढेर ४ खर्ब २५ अर्ब ५८ करोड ६२ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा यिनीहरुको बिमा कोषमा ३ खर्ब ४६ अर्ब ९२ करोड ७२ लाख रुपैयाँ रहेको थियो ।
पुस मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै बिमा कोष नेपाल लाइफको रहेको छ । यसको बिमा कोषमा १ खर्ब ५० अर्ब ८५ करोड ६४ लाख रुपैयाँ छ । ११ वटै बिमा कम्पनीको उक्त कोष बढेको छ । प्रभु लाइफको सबैभन्दा कम ३ अर्ब ४७ करोड ७८ लाख रुपैयाँ बराबरको बिमा कोष रहेको छ ।
खुद बिमा शुल्क १.०३% ले घट्यो : नेपाल लाइफको सबैभन्दा धेरै बिमा शुल्क आर्जन
पुस मसान्तसम्म आइपुग्दा समग्रमा बिमा कम्पनीहरुको खुद बिमा शुल्क आर्जन १.०३% ले घटेर ५१ अर्ब २३ करोड ६९ लाख ३८ हजार रुपैयाँ कायम भएको छ । गत वर्षको यसैअवधिमा कम्पनीहरुले ५१ अर्ब ७७ करोड २१ लाख ५७ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेका थिए । सबैभन्दा धेरै बिमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्सुरेन्स रहेको छ ।
यसअवधिमा यसले १८ अर्ब ४० करोड ४५ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा १.६० ले धेरै हो । ६ वटाको खुद बिमा शुल्क आर्जन घटेको छ । सबैभन्दा कम प्रभु लाइफ इन्सुरेन्सले ९८ करोड ७५ लाख रुपैयाँमात्र बिमा शुल्क आर्जन गरेको छ ।
जीवन बिमा कम्पनीहरुको खुद नाफा ७०.४५% ले बढ्योः नेपाल लाइफको नाफा सबैभन्दा बढी
पुस मसान्तसम्ममा आइपुग्दा समग्र जीवन बिमा कम्पनीहरुको खुद नाफा ७०.४५% ले बढेर २ अर्ब ५ करोड ९९ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा यिनीहरुले १ अर्ब २० करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । यस अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा नेपाल लाइफ इन्सुरेन्स रहेको छ । यसको खुद नाफा २३७.२९% ले बढेर ४४ करोड १ लाख ६० हजार रुपैयाँ पुगेको छ ।
गत वर्ष यसले १३ करोड ४ लाख नाफा आर्जन गरेको थियो । त्यस्तै, सूर्या लाइफ र ज्योति लाइफ मर्ज भएर बनेको सूर्यज्योति लाइफको खुद नाफा २८ करोड ४१ लाख ९४ हजार रुपैयाँ पुगेको छ । यस अवधिसम्म आइपुग्दा सबैभन्दा कम लाइफ इन्सेरन्स कर्पोरेसन नेपालले ९ करोड ८७ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको छ । ११ वटै जीवन बिमा कम्पनीहरुको नाफा गत वर्षको भन्दा बढेको छ ।
प्रतिसेयर आम्दानीमा युनियन लाइफको अग्रता
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी युनियन लाइफ इन्सुरेन्स रहेको छ । यसको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ८७ पैसाले बढेर १९ रुपैयाँ ४६ पैसा पुगेको छ । त्यसपछि, रिलायन्स लाइफ इन्सुरेन्सको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८८ पैसा रहेको छ । एसियन लाइफको मात्र प्रतिसेयर आम्दानी घटेको छ । सबै भन्दा कम लाइफ इन्सुरेन्स कर्पोरेसन नेपालको इपीएस ३ रुपैयाँ ७२ पैसा रहेको छ ।