फरवार्ड माइक्रोफाइनान्सको खुद नाफा घट्यो |
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको खुद नाफा ७०.८३% ले घटेर १२ करोड ४० लाख ३० हजार रुपैयाँमा झरेको छ ।
गत आर्थिक वर्षको यसैअवधिमा कम्पनीले ४२ करोड ५१ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घट्नाले यसको खुद मुनाफामा असर परेको हो । साथै, लघुवित्तले इम्पेयरमेन्ट चार्ज बापत २१ करोड ३५ लाख रुपैयाँ छुट्याएको छ । त्यसैले गर्दा पनि नाफामा केही संकुचन आएको हो ।
कम्पनीको खुद ब्याज आम्दानी २६.५८% ले घटेर ५० करोड ८० लाख रुपैयाँमा झरेको छ । गत वर्षको यसैअवधिमा फर्वाडले ६९ करोड १९ लाख २४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
सञ्चालन नाफा पनि ७०.८०% ले घटेर १७ करोड ७१ लाख रुपैयाँमा झरेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले ६० करोड ६८ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
पुस मसान्तसम्म आइपुग्दा यस लघुवित्तको चुक्ता पुँजी १ अर्ब ५ करोड ५५ लाख ६३ हजार रुपैया रहेको छ । जगेडा कोषमा ९८ करोड ८० लाख ३५ हजार रुपैयाँ जम्मा रहेको छ । यस संस्थाको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ५० पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ २६१ रुपैयाँ ८६ पैसा छ ।