नागरिक लगानी कोषको अधिकांश सूचकमा सुधार |
काठमाडौं । नागरिक लगानी कोष (सीआइटी) को खुद नाफामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कोषले ५१ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको यसै अवधिमा कमाएको ३८ करोड ९४ लाख रुपैयाँ भन्दा ३१.७८% धेरै हो । सीआइटीको ब्याज आम्दानीका साथै सेवा शुल्क तथा कमिसन आम्दानी र विविध आम्दानीमा सुधार भएपछि खुद नाफा वृद्धि भएको देखिन्छ ।
ब्याज आम्दानी ८ करोड ८७ लाख रुपैयाँबाट बढेर २१ करोड २४ लाख रुपैयाँ पुगेको छ । यस्तै, सेवा शुल्क तथा कमिसन आम्दानी ५८ करोड रुपैयाँबाट बढेर ६१ करोड रुपैयाँ पुगेको छ । हाल नागरिक लगानी कोषको सेयर पुँजीमा ४ अर्ब २५ करोड १० लाख रुपैयाँ रहेको छ । सेयर प्रिमियम भने गत वर्षको भन्दा घटेर २८ करोड ३८ लाख ७८ हजार रुपैयाँमा आएको छ । गत वर्ष सेयर प्रिमियम १ अर्ब २६ करोड ४८ लाख रुपैयाँ रहेको थियो ।
यसको जगेडा कोष भने १९ अर्ब रुपैयाँबाट घटेर १५ अर्बमा झरेको छ । मुद्दति निक्षेपमा १ खर्ब ६ अर्ब २६ करोड रुपैयाँ लगानी गरेको छ । संगठित संस्थाको सेयर तथा धितोपत्रमा लगानी बढाएर २८ अर्ब २६ करोड रुपैयाँ पुर्याएको छ । गत वर्ष भने सेयरमा १६ अर्ब ७३ करोड रुपैयाँ मात्र लगानी गरेको थियो ।
लगानीमा प्रतिफल (आरओआई) पनि ७.८२% बाट बढेर ९.४२% पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा सीआइटीको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ८२ पैसाबाट बढेर २४ रुपैयाँ १५ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने १९५ रुपैयाँ ६५ पैसा छ ।