शुभम् पावरको आइपीओ शुक्रबार बाँडफाँट हुने |
काठमाडौं । शुभम् पावर लिमिटेडको आइपीओ शुक्रबार (माघ २७ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार शुक्रबार बाँडफाँटको तयारी गरिएको छ । तर, समय भने अहिलेसम्म तय नभएको बिक्री प्रबन्धकले जनाएको छ । यता, शुभम् पावरको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा ३१.२८ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।
यसमा १३ लाख ६० हजार ९७ जनाले कुल १ करोड ५० लाख ७३ हजार ६४० कित्ताको लागि आवेदन दिएका छन् । जसमा ४८ हजार १८८ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १३ लाख ११ हजार ९०९ जनाको भने हात खाली हुनेछ । कम्पनीले माघ १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि ४ लाख ८१ हजार ८ सय ८२ कित्ता आइपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले कुल ५ लाख ८० हजार ५८० कित्ता सेयरमध्ये १०% अर्थात् ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । यस्तै, ५% अर्थात् २९ हजार ३० कित्ता सामुहिक लगानी कोष र २% अर्थात् ११ हाजर ६१० कित्ता कर्मचारीहरुलाई छुट्याएर बाँकी रहेको ४ लाख ८१ हजार ८ सय ८२ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको हो ।
यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेको छ । यसलाई रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्छ ।