प्रिमियर इन्स्योरेन्सको बीमाशुल्क घटेपनि नाफा भने सामान्य बढ्यो |
काठमाडौँ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १५ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ०.३४ प्रतिशतले मात्रै बढी हो ।
गत आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले १५ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीको खुद बीमाशुल्क भने ८.०१ प्रतिशतले घटेर ४२ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ४६ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस्तै कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट ५ करोड ८९ लाख रुपैयाँ, पुनर्बीमा कमिशन वापत ११ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पूँजी १ अर्ब ४० करोड २६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३० करोड ८ लाख रुपैयाँ, बीमा कोषमा १ अर्ब ९ करोड ३० लाख रुपैयाँ र महाविपत्ती कोषमा ६ करोड ८० लाख रुपैयाँ सञ्चित रहेको छ ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २२ रुपैयाँ २७ पैसा, प्रतिशेयर नेटवर्थ २०४ रुपैयाँ २३ पैसा र मूल्य आम्दानी अनुपात २९.५० गुणा बढी रहेको छ ।