अधिकांश लघुवित्त संस्थाको नाफा गत वर्षको तुलनामा घट्यो, चुक्ता पुँजीमा एनआइसी एसिया लघुवित्त अगाडि |
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १७ वटा माइक्रोफाइनान्स कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९–८० को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । रिपोर्ट सार्वजनिक गर्ने अधिकांश लघुवित्त संस्थाहरुको नाफा गत वर्षको तुलनामा घटेको छ । यी लघुवित्तहरुले इम्पेयरमेन्ट चार्ज बापत भारी रकम छुट्याउनु पर्दा नाफामा संकुचन आएको हो । पुस समान्तसम्म आइपुग्दा १७ लघुवित्तमध्ये सबैभन्दा धेरै चुक्ता पुँजी एनआइसी एसिया लघुवित्तको देखिएको छ ।
यसको पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ रहेको छ । १७ मध्ये ६ वटा लघुवित्तको पुँजी १ अर्ब रुपैयाँ भन्दा धेरै छ । सबैभन्दा कम खप्तड लघुवित्तको जम्मा ४ करोड रुपैयाँ पुँजी छ । त्यस्तै, साना किसान लघुवित्तको जगेडा कोष तथा सरप्लस सबैभन्दा धेरै देखिएको छ । यसको कर्जा, सञ्चाल नाफा, खुद नाफा र प्रतिसेयर आम्दानी पनि अरुको भन्दा धेरै छ । पुस मसान्तसम्म आइपुग्दा यस लघुवित्तको रिजर्भ एन्ड सरप्लसमा ३ अर्ब ४ करोड २६ लाख रुपैयाँ जम्मा भएको छ ।
यस्तै, संस्थाले ३० अर्ब रुपैयाँ भन्दा धेरैको कर्जा विस्तार गरेको छ । सञ्चालन नाफा ६२ करोड ३ लाख रुपैयाँ रहेको छ भने ४३ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस अवधिसम्म आइपुग्दा साना किसानको प्रतिसेयर आम्दानी ५५ रुपैयाँ ६१ पैसा कायम रहेको छ । यता, जीवन विकास लघुवित्तले सबै भन्दा धेरै करिब १० अर्ब रुपैयाँ बारबरको निक्षेप संकलन गरेको छ ।
खप्तड लघुवित्तको चुक्ता पुँजी, रिजर्भ र कर्जा सबै भन्दा कम रहेको छ । त्यस्तै खुद नाफा, सञ्चालन नाफा र प्रतिसेयर आम्दानी भने ग्रामीण विकासको सबैभन्दा कम छ । यो संस्थाले पुस मसान्तसम्ममा १२ करोड ५९ लाख रुपैयाँ घाटा व्यहोरेको छ । यसको सञ्चालन नाफा पनि ऋणात्मक छ भने प्रतिसेयर २५ रुपैयाँ ६४ पैसा नोक्सानीमा रहेको छ ।