बीमा पहुँच ४४.२५ प्रतिशत पुग्यो, १०.८४ प्रतिशतले बढ्यो |
काठमाडौँ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बीमाको दायरा (म्यादी, लघु म्यादी र बैदेशिक रोजगार जीवन बीमालेख सहित) ४४.२५ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको तुलनामा बीमाको पहुँच १०.८४ प्रतिशतले बढेको हो ।
गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बीमाको पहुँच ३३.४१ प्रतिशत जनसंख्यामा पुगेको थियो । म्यादी, लघु म्यादी जीवन बीमालेख सहित पनि बीमाको पहुँच ४० प्रतिशत पुगेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । गत आर्थिक वर्षका यसै अवधिमा म्यादी, लघु म्यादी जीवन बीमालेख सहितको यस्तो पहुँच ३०.५६ प्रतिशत मात्रै रहेको थियो ।
पछिल्लो समय बीमालेखमा वृद्धि भएपछि बीमाको दायरा विस्तार थप सहयोग पुगेको बीमा प्राधिकरणले जनाएको छ । पुससम्ममा बैदेशिक रोजगार बीमालेख संख्या ५२.१७ प्रतिशत र जीवन बीमालेख संख्या (म्यादी, लघु म्यादी र बैदेशिक रोजगार बीमाले सहित) ४३.६९ प्रतिशतले बढेर ७३ लाख १३ हजार १२१ वटा बीमालेख जारी भएको बीमा प्राधिकरणको तथ्यांक छ । कुल जीवन बीमालेख संख्या पनि ३४.८८ प्रतिशतले बढेर १ करोड ४१ लाख ९ हजार ३२ वटा पुगेको छ ।
जीवन बीमाको दायरामा प्रति व्यक्ति बीमालेख गणना गरिने भएकोले सामुहिक बीमालेखलाई प्रति व्यक्ति बीमालेखमा गणना गरिएकोले पनि दायरा विस्तार उल्लेख सुधार भएको प्राधिकरणले जनाएको छ ।
यस्तै बैदेशिक रोजगार बीमालेख संख्या पनि ५२.१७ प्रतिशतले बढेर १२ लाख ९४ हजार ४५९ वटा बीमालेख जारी भएका छन् । गत आर्थिक वर्षको यहि अवधिमा जीवन बीमा कम्पनीहरुले ८ लाख ५० हजार ६९० वटा बैदेशिक रोजगार बीमालेख बिक्री गरेका थिए ।
निर्जीवन बीमा कम्पनीहरूको बीमालेख संख्या भने ६.११ प्रतिशतले घटेर १३ लाख ९५ हजार ३२ वटामा सीमित भएको छ । गत वर्षको यहि अवधीमा निर्जीवन बीमा कम्पनीहरुले १४ लाख ८५ हजार ८५१ वटा बीमालेख जारी गरेका थिए ।
जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क भने १.९१ प्रतिशतले बढेर ९१ अर्ब ७३ करोड ४५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले ९० अर्ब १ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।
यस अवधिमा जीवन तथा निर्जीवनबीमा कम्पनीहरुका ३ हजार ३७८ वटा शाखा कार्यालयहरुमा १२ हजार २९ जना कर्मचारीहरु कार्यरत रहेका छन् ।