सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय | सरकारलाई दिएको समर्थन भने कायमै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आइतबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको हो ।
उक्त बैठकले सरकारमा रहने वा नरहने विषयमा छलफल गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टिका सभापति रवि लामिछानेलाई गृह मन्त्रालय मात्र नभएर मन्त्री नै नबनाउने बताएपछि पार्टीले यस्तो निर्णय गरेको हो ।
बैठकले सरकारका मन्त्री फिर्ता बोलाउने निर्णय गरेपनि समर्थन भने जारी राख्ने निर्णय गरेको छ । रास्वपाबाट सरकारमा मन्त्रीहरु बनेकाहरुले आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले जानकारी दिए ।
लामिछानेले पत्रकार सम्मेलनमार्फत आफ्नो सिधा कुरा गरे । सो क्रममा उनले मिडियाहरु स्वार्थ बाझिने खेलमा लागेको भन्दै चर्को आलोचना गरे । उनले मिडियाहरुको नामै किटेर चर्को आक्रोश समेत पोखेका हुन् ।
उनले आफूले झुटो नबोल्ने उल्लेख गर्दै मन्त्री पद जाँदा केही अलिअलि झोँक पनि चलेको स्वीकार गरे । उनले आफ्नो फेसबुकको बायो समेत मान्छे भन्ने राखेको उल्लेख गर्दै त्यतिसम्म त देलान् नि भनेर सो निर्णय लिएको उनले बताए ।
उनले आफ्नो बारेमा प्रमाणसहित लेख्न आग्रह गर्दै प्रमाणसहित लेखिएको कुराको स्वीकार गर्ने बताए ।