ग्लोबल आइएमई बैंकले माघ २९ गतेबाट ऋणपत्र निष्कासन गर्दै, ११.२५% ब्याज पाइने |
काठमाडौं । ग्लोबल आइएमई बैंकले माघ २९ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । त्यस्तै सामुहिक लगानी कोषलाई १ लाख इकाई ऋणपत्र छुट्याएको थियो । जसमा ७० हजार इकाई लागि मात्रै आवेदन परेको थियो ।
बाँकी ३० हजार इकाई सहित १९ लाख ३० हजार इकाई सर्वसाधारणका लागि खुला हुनेछ । ग्लोबल आइएमईले ५ वर्ष अवधिको ११.२५% ब्याजदर भएको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५’ जारी गर्न लागेको हो । बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ । यस ऋणपत्रमा फागुन ३ गतेसम्म आवेदन दिन पाइनेछ ।
उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने फागुन १४ गतेसम्म खुला रहनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।