महासंघ पदाधिकारी र उद्योग मन्त्री बीच भेटवार्ता, स्टार्ट अप नीति अन्तिम चरणमा |
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले माननीय उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष आज सिंहदरबारमा भेटगरी उद्योग व्यवसाय प्रबर्द्धनका बिषयमा छलफल गरेको छ।
महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डल र उद्योग मन्त्री बीच सम्पन्न भेटवार्तामा अध्यक्ष गोल्छाले अस्थीर ब्याजदरका कारण विशेषगरि साना व्यवसायी अत्यन्त प्रताडित हुनु परेको बताएका थिए।
उद्योगहरुमा अघोषित लोडसेडिंगका कारण उत्पादन थप प्रभावित बनेको, बजारमा उधारोको समस्या विकराल बन्दै गएको अवस्थामा उधारो उठाउने सम्बन्धि कानुन यथाशिघ्र ल्याउनुपर्नेमा जोड दिए।
भेटवार्तामा राष्ट्रिय आर्थिक रुपान्तरण नेट २०३० कार्यान्वयन बारे गत साउनमा महासंघ र सरकारबीच समझदारी भएकाले यसको निरन्तरता र सहकार्यका लागि आग्रह गरेको छ।
महासंघको पहलमा तयार भएको स्टार्टअप नीतिका सम्बन्धमा अन्तिम छलफल गरि पारित गर्न समेत सो अवसरमा महासंघका तर्फबाट आग्रह गरिएको छ। यस सम्बन्धमा आवश्यक छलफल आयोजना गर्न महासंघ तयार रहेको पनि सो अवसरमा जानकारी गराइयो ।
मन्त्री भण्डारीले स्टार्टअप नीति अन्तिम चरणमा पुगेको र छिट्टै पारित हुने बताए।
महासंघले सम्माननीय प्रधानमन्त्रीको आशन्न भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा नेपाल भारत लगानी सम्मेलन आयोजना गर्ने र त्यसमा भारतस्थित महासंघको साझेदार संस्था सिआईआई सह–आयोजक रहने कार्यक्रम रहेकाले यसमा मन्त्रालयकातर्फबाट आवश्यक समन्वय गरिदिन समेत सो अवसरमा आग्रह गरेको छ।
नेपालबाट भारत निर्यात गर्दा जारीहुने उत्पत्तिको प्रमाणपत्रको अनलाइन प्रक्रियालाई भारतले मान्यता नदिएकाले यसमा सहयोग गर्न समेत महासंघका तर्फबाट सो अवसरमा सुझाव दिइयो ।
मन्त्रालयसँगको साझेदारी अनुसार सबै प्रदेशमा इन्कुवेसन केन्द्र स्थापना गर्न महासंघसँग सहकार्य गर्ने उल्लेख भएकाले यसलाई जतिसक्दो छिटो कार्यान्वयनमा लैजानु पर्ने धारणा सो अवसरमा व्यक्त गरिएको छ। साथै साना तथा मझौला उद्यमीका लागि महासंघले सहयोग केन्द्र तथा वैदेशिक लगानी सहायता केन्द्र स्थापना गरेकाले सरकारसंगको सहकार्यका लागि आग्रह गरिएको थियो।
सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भण्डारीले महासंघका तर्फबाट राखिएका सुझावलाई आफूले अगाडी बढाउने र महासंघसंग नियमित सम्वाद र नजिकमा रहेर कार्य गर्ने विश्वास दिलाएको एफएनसीसीआईले जनाएको छ।