राष्ट्रपति निर्वाचनका लागि फागुन १३ मा उम्मेदवारी दर्ता गर्नुपर्ने |

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन मितिसहित कार्यतालिका सार्वजनिक गरेको छ। आयोगका अनुसार फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिका लागि निर्वाचन हुनेछ।
संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा प्रदेश सभा सदस्यहरू राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा मतदाता हुन्छन्।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आयोगले मिति तोकेको र कार्यतालिका पनि सार्वजनिक गरेको जानकारी दिए।
उनकाअनुसार सातै प्रदेशमा मतदान गर्ने गरी तयारी भए पनि अहिले सम्भव नहुने देखिएकोले काठमाडौंमै मतदान हुने गरी व्यवस्था मिलाइएको छ।
मतदाता नामावली प्रकाशन फागुन १० गते हुनेछ भने दाबी, विरोध र उजुरीका काम त्यसपछि हुनेछन्। उजुरीउपर छानबिन फागुन ११ र १२ गते हुने गरी आयोगले कार्यतालिका बनाएको छ। अन्तिम मतदाता नामावली भने फागुन १२ मा हुनेछ।
राष्ट्रपतिका लागि मनोनयन दर्ता फागुन १३ गते हुनेछ। उम्मेदवारीविरूद्ध उजुरी फागुन १४ मा दिन सकिनेछ। राष्ट्रपतिका लागि मतदान भने फागुन २५ गते हुनेछ।
उपराष्ट्रपति चुनाव भने चैत ३ गते हुनेछ।
मतदाता नामावली प्रकाशनलगायत काम राष्ट्रपति निर्वाचनकै कामलाई निरन्तरता दिइने आयोगको तयारी छ। उपराष्ट्रपतिका लागि मनोनयन दर्ता भने फागुन २७ गते हुने आयोगको कार्यतालिका छ।
दलहरूले राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार तय गरिसकेका छैनन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमति खोजेर राष्ट्रपति निर्वाचन अघि बढाउन चाहेका छन्।
तर सत्ता साझेदार नेकपा एमालेले आफूहरूले राष्ट्रपति पाउनुपर्ने अडान राखेको छ। गत पुस २६ मा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको नेपाली कांग्रेसले पनि राष्ट्रपतिमा माओवादीले सहयोग गर्ने दाबी गरिरहेको छ।
कांग्रेसभित्र नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम राष्ट्रपति उम्मेदवारका रूपमा चर्चामा छ। कांग्रेस पदाधिकारी बैठकले एकताबद्ध भई राष्ट्रपति निर्वाचनमा होमिने निर्णय गरेको थियो।