युनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन |
काठमाडौं । माघ १६ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
यस दिन इन्स्योरेन्स्को ८.९७ प्रतिशत बोनस शेयर समायोजन भएको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ४७८ रुपैयाँ ११ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन इन्स्योरेन्सको शेयर प्रतिकित्ता ५२१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। मर्जर गर्ने सम्झौता गरेपश्चात हालसम्म इन्स्योरेन्सको शेयर कारोबार रोक्का रहेको छ। इन्स्योरेन्सले बैशाख २९ गते गुराँस लाइफ र प्राइम लाइफ इन्स्योरेन्ससँग मर्ज हुने सम्झौता गरेको थियो।
इन्स्योरेन्सले माघ २६ गते बिहीबार, टाइगर प्यालेस, भैरहवामा बिहान साढे १० बजे पाँचौ वार्षिक साधारण सभा बोलाएको छ।
सभाले हाल कायम चुक्ता पूँजीको ८.९७ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले संस्थापक समूह र सर्वसाधारण समूहको शेयर अनुपात ७०ः३० बाट परिणत गरी ५१ः४९ कायम गर्ने, यूनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा गाभिने सम्बन्धमा भएको सम्झौतापत्र, शेयर कारोबार रोक्का राख्ने गरी भएको निर्णय तथा कम्पनीको डिडिए गर्न लेखापरीक्षक नियुक्त गर्ने सम्बन्धि सञ्चालक समितिले गरेको निर्णय अनुमोदन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।