दरबारमार्गको पार्किङ हटाइएपछि व्यवसायी आन्दोलित |
काठमाडौं । दरबारमार्ग क्षेत्रका व्यवसायीहरूले ट्राफिक समस्या नै नभएको क्षेत्रमा काठमाडौं महानगरपालिकाले पार्किङ हटाएर मनोमानी गरेको आरोप लगाएका छन्।
डेडिकेटेड पार्किङ लेनमा सवारीसाधान पार्किङ निषेध गरेर महानगरले काठमाडौंको व्यापारिक तथा पर्यटकीय गन्तव्यमाथि प्रहार गरेको उनीहरूको भनाइ छ।
दरबारमार्ग विकास बोर्डद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष सञ्जीव तुलाधरले पार्किङ हटाउने महानगरको निर्णयले व्यवसायमा ५० प्रतिशत गिरावट आएको उल्लेख गरे। उनले व्यवसाय नै बन्द गरेर सडकमा ओर्लनुपर्ने अवस्था सिर्जना भएको पनि बताए।
‘दरबारमार्गमा कुनै ट्राफिक जामको समस्या कहिल्यै भोग्नु परेको छैन। व्यवसायी र ट्राफिक प्रहरी मिलेर एक लेन पार्किङसहित चुस्त व्यवस्थापन गर्दै आए पनि किन महानगरलाई सह्य भएन म त आश्चर्य चकित छु,’ उनले भने।
बोर्डका निवर्तमान अध्यक्ष गोपालसुन्दर लाल कक्षपतिले ७० फिट चौडाइको सडकलाई बोर्ड स्थापनापछि पाँच लेनमा विभाजन गरी ट्राफिक प्रहरीकै संलग्नतामा एक लेन पार्किङका लागि डिजाइन गरिएको बताए।
‘हामीले पहिले निःशुल्क पार्किङको व्यवस्था गर्यौं तर महानगरले स्मार्ट पार्किङका नाममा घन्टाको ८० रुपैयाँ असुल्न थाल्यो,’ उनी भन्छन्, ‘हामीले प्रतिघन्टा ४० रुपैयाँ कायम गर्न धेरै आग्रह गर्दा पनि सुनुवाई भएन। अहिले त पार्किङ नै हटाइयो।’
पार्किङ पुनःस्थापनाका लागि आफूहरूले मेयर बालेन शाहलाई पटक-पटक भेट्न खोजे पनि मेयरले समय नदिएको उनको भनाइ छ।
‘महानगरले एकतर्फी निर्णय गर्यो तर यसको मूल्य हामीले मात्र होइन सरकारले पनि चुकाउने अवस्था आएको छ। हाम्रो दिनहुँ करोडमा हुने व्याापार आधा घटिसकेको छ। यसले सरकारको राजस्वमा पनि प्रत्यक्ष प्रभाव पार्नेछ,’ निवर्तमान अध्यक्ष गोपालसुन्दरले भने।