पर्यटन प्रर्वद्धनका लागि चेम्बरको आयोजनामा कर्पोरेट गल्फ सम्पन्न |

काठमाडौं । पर्यटन प्रर्वद्धनका लागि चेम्बर अफ कमर्सले कर्पोरेट गल्फ प्रतियोगिता सम्पन्न गरेको छ।
काठमाडौंको सिनामंगलस्थित रोयल नेपाल गल्फ क्लबमा निजी क्षेत्रका उद्योगी व्यवसायीको सहभागितामा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गरिएको हो।
सो प्रतियोगिताको समापन कार्यक्रमलाई सम्बोधन गर्दै चेम्बर अध्यक्ष राजेन्द्र मल्लले गल्फ प्रतियोगितालाई व्यवस्थित बनाएर मुलुकको पर्यटन प्रर्वद्धन गर्नुपर्नेमा जोड दिए।
‘कर्पोरेट गल्फमार्फत मुलुकका उद्यमी व्यवसायीलाई एकै ठाउँमा जोड्न सकिन्छ। गल्फमार्फत आन्तरिक र बाह्य पर्यटन वृद्धि गर्न पनि महत्वपुर्ण सहयोग पुग्छ भन्ने मैले अपेक्षा गरेको छु,’ उनले भने।
गल्फ खेल मार्फत पर्यटन विकास पनि हुने भएकाले देशव्यापी बनाउन आवश्यक रहेको अध्यक्ष मल्लको भनाइ छ। गल्फ खेलले शारीरिक विकास र मनोरञ्जसँंगै मानसिक स्वास्थ्यमा पनि सहयोग पुर्याउने भएकाले यसलाई ब्यापक बनाउनुपर्ने अध्यक्ष मल्लको बताए।
रोयल नेपाल गल्फ क्लबसँगको सहकार्यमा चेम्बरले आगमी वर्ष पनि गल्फ प्रतियोगितालाई निरन्तरता दिने उनको भनाइ छ।
गल्फ क्लबका अध्यक्ष प्रचण्डमान श्रेष्ठले राज्यको साथ र नीतिगत व्यवस्था गरेर गल्फको विकासमार्फत पर्यटन प्रर्वद्धन गर्न सकिने बताए।
यसका लागि निजी क्षेत्रको सबैभन्दा पुरानो संस्था चेम्बरसँग एक सय वर्षभन्दा पुरानो इतिहास बोकेको रोयल नेपाल गल्फ क्लब सहकार्य गर्न तयार रहेको उनले बताए।
शनिबार सम्पन्न प्रतियोगिताका विजेतालाई चेम्बर अध्यक्ष मल्लले सम्मान गरेका छन्। पुरुषतर्फ नीतिममनी राज भण्डारी ४० उच्च स्कोर र महिलातर्फ ३२ स्कोर सहित आर्सिया बानु पुरस्कृत भइन्।
यस्तै चेम्बरको आमन्त्रित समूह तर्फबाट कान्तिपुर दैनिकका सहायक म्यानेजर किशोर बस्नेत ३५ स्कोर सहित पुरस्कृत भए।