स्वाद अलैंचीको, मीठास नेपालको : परम्परागत र फ्युजन नेपाली परिकारहरुको रेसिपी बुक |

काठमाडौं । वाह ! अलैंची अभियानले नेपालको विशिष्ट उत्पादन – अलैंचीको प्रयोग गरि तयार गरिने परम्परागत र फ्युजन नेपाली रेसिपीहरू सहितको पहिलो रेसिपी बुक सार्वजनिक गरेको छ। पुस्तकमा मास्टरशेफ सन्तोष शाह र प्रशिक्षार्थी तथा अन्य शेफहरूबाट विशेष रूपमा छानिएका ४० भन्दा बढी रेसिपीहरू समावेश गरिएका छन्।
साथै रेसिपी बुकमा सेकुवा, चिया र खीर जस्ता सदाबहार व्यञ्जनहरूका लागि मसलाहरू तयार गर्ने विधि पनि समावेश गरिएका छन्।
यस पुस्तकमा समावेश गरिएका रेसिपीहरू, वाह! अलैंची अभियान अन्तर्गत पहिलो चरणमा आयोजना गरिएको प्रशिक्षार्थीहरु बीचको खाना बनाउने प्रतियोगिताबाट संकलन गरिएको हो। सो प्रतियोगीतामा अलैंचीलाई मुख्य सामग्रीको रूपमा प्रयोग गरिएको थियो जसमा विराटनगर, सौराहा र काठमाडौंका होटलहरूका प्रोफेसनल शेफ तथा कलिनरी विद्यालयका युवा प्रशिक्षार्थीहरूले उत्साहका साथ सहभागी भएका थिए। प्रत्येक रेसिपीलाई काठमाण्डौंका प्रोफेसनल शेफहरूको टोलीद्वारा सावधानीपूर्वक चयन र परिक्षण गरिएको थियो।
सन् २०२२ जुलाई महिनामा नेपाल अलैंची व्यवसायी महासंघले उद्योग, कृषि तथा सहकारी मन्त्रालय प्रदेश १, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश १ र स्वीस सरकार विकास सहयोग (स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन)को सहयोगमा होटल एसोसिएसन नेपाल ९ज्ब्ल्० सँगको सहकार्यमा, वाह! अलैंची अभियान सुरूवात गरेको थियो । यो अभियान घरेलु तथा व्यावसायिक उपभोक्ता माझ अलैंचीको प्रयोग र उपभोगमा सचेतना अभिवृद्धि गर्नमा केन्द्रित रहेको छ । साथै, यो अभियानले नेपाली घरपरिवारलाई अलैंचीको फाइदा र स्वादबारे जानकारी गराउने लक्ष्य राखेको छ।
हाल दोस्रो चरणमा रहेको वाह! अलैंची अभियानले नेपाली बजार र घरघरमा अलैंचीको प्रयोग र उपभोगलाई प्रवर्द्धन गर्नेछ । यो अभियान अलैंचीलाई प्रवर्द्धन गर्न प्रमुख सरोकारवालाहरूसँगको सहकार्यमा केन्द्रित हुनेछ र साथै रेसिपी बुकको प्रवर्द्धन गर्न संचार माध्यम, निजी क्षेत्र र होटल एसोसिएसनसँग पनि काम गर्नेछ।
नेपाल अलैंची व्यवसायी महासंघ नेपालमा अलैंची व्यवसायी उद्यमीहरूको छाता संगठन हो। यो वि.सं. २०६४ (सन २००८) मा स्थापना भएको हो । नेपाल अलैंची व्यवसायी महासंघको केन्द्रीय कार्यालय झापाको बिर्तामोडमा रहेको छ। नेपाल अलैंची व्यवसायी महासंघमा एक हजार एक सय भन्दा बढी सदस्यहरू (निर्यातकर्ता, व्यापारी, सङ्कलनकर्ता र किसानहरू) आवद्ध छन्। देशभर एक लाख पच्चिस हजार भन्दा बढी किसान परिवारहरूले अलैंची उत्पादन गर्दै आएका छन्।