फाइनान्स कम्पनीहरुको नाफामा उच्च गिरावट, तीन कम्पनीले मात्रै नाफा बढाए |
काठमाडौंँ । फाइनान्स कम्पनीहरुको नाफामा उच्च गिरावट देखिएको छ। फाइनान्स कम्पनीहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको वित्तीय विवरण अनुसार फाइनान्स कम्पनीहरुको खुद नाफा औषतमा ५३.३२ प्रतिशतले घटेको छ।
वित्तीय विवरण अनुसार तीन फाइनान्स कम्पनीले मात्रै नाफा बढाएका छन्। गोर्खाज फाइनान्सको खुद नाफा सबैभन्दा धेरै २४६ प्रतिशतले बढेको छ भने मञ्जुश्री फाइनान्सको ८१ प्रतिशत र पोखरा फाइनान्सको २० प्रतिशतले बढेको छ।
फाइनान्स कम्पनीहरुमध्ये दुई फाइनान्स कम्पनीहरु घाटामा देखिएका छन्। गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ६० लाख रुपैयाँ नाफा कमाएको समृद्धि फाइनान्स चालु आर्थिक वर्षको सोहि अवधिमा ७ करोड ७३ लाख रुपैयाँ घाटामा देखिएको छ। यस्तै प्रोग्रेसिभ फाइनान्स पनि १ करोड ३० लाख रुपैयाँ घाटामा देखिएको छ।
फाइनान्स कम्पनीहरुको खुद नामा देखिएको उच्च गिरावटले फाइनान्स कम्पनीको शेयरमा पनि लगानीकर्ताको आकर्षण घटेको छ। नेप्सेको पछिल्लो बढाइमा फाइनान्स कम्पनीहरु यसअघिको जस्तो बढ्न सकेनन्।
पछिल्लो केहि दिनको तथ्याँक हेर्ने हो भने लगानीकर्ता फाइनान्स कम्पनीभन्दा हाइड्रोपावर र बीमा कम्पनीहरुमा बढी आकर्षित भएको देखिन्छ।