एप्पलले २५% आइफोनहरु भारतमै उत्पादन गर्ने |
एप्पलले आफ्ना २५% आइफोनहरु भारतमै उत्पादन गर्न चाहेको देशका वाणिज्य मन्त्री पियुष गोयलले बताएका छन् ।
एप्पलले हाल सबै आइफोनमध्ये ५% देखि ७% आइफोनहरु भारतमा उत्पादन गरिरहेको र भविश्यमा उक्त हिस्सा २५% पुर्याउने योजना रहेको गोयलले बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । यद्दति, भारतमा उत्पादन हिस्सा बढाउने विषयमा एप्पलले भने आधिकारिक खुलासा गरेको छैन ।
एप्पलले सन् २०१७ देखि नै भारतमा आइफोन उत्पादन गर्दै आएको छ । प्रायः पुराना मोडलहरु मात्र भारतमा उत्पादन हुने गरेकामा कम्पनीले गत वर्षदेखि भने ‘आइफोन १४’ लाई समेत एसेम्बल गर्न थालेको हो । हाल एप्पलले अधिकांश आइफोनहरु चीनमा उत्पादन गर्दै आएको छ । यद्दपि, पछिल्लो समय कोभिड प्रतिबन्ध र कामदारहरुको प्रदर्शनका कारण एप्पलले चीनबाट अन्य मुलुकहरुमा उत्पादन विविधिकरण गर्न खोजिरहेको छ ।