कामना सेवाको नाफामा ४३% को गिरावट |
काठमाडौँ । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १९ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ४३.०१% ले थोरै हो । गत वर्ष बैंकले ३४ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो । यो त्रैमाससम्म आइपुग्दा कामन सेवाको खुद ब्याज आम्दानी भने १२.८८% ले बढेर १ अर्ब २ करोड रुपैयाँ पुगेको छ । गत वर्ष खुद ब्याज आम्दानी ९० करोड ५९ लाख रुपैयाँ रहेको थियो ।
सञ्चालन नाफा ४३.०१% ले घटेर २७ करोड ९८ लाख रुपैयाँमा झरेको छ । यता, बैंकको इम्पेयरमेन्ट चार्ज भने २०७% ले बढेर ३० करोड १५ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानीमा केही सुधार भएता पनि सञ्चालन नाफा घट्दा अनि इम्पेयरमेन्ट चार्ज बढ्दा यसको नाफा प्रभावित भएको हो ।
हाल कामनाको चुक्ता पुँजी ३ अर्ब १४ करोड २५ लाख ७७ हजार रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोषमा १ अर्ब ४१ करोड रुपैयाँ छ । बैंकको कस्ट अफ फन्ड १०.२४% रहेको छ । यसको खराब कर्जा अनुपात १.७७% बाट बढेर ३.७०% पुगेको छ। प्रतिसेयर आम्दानी १२ रुपैयाँ ४७ पैसा रहेको कामना सेवाको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ २१ पैसा रहेको छ ।