आज सोनाम ल्होछार मनाइँदै |

काठमाडौं । आज सोनाम ल्होछार-२८५९ मनाइँदैछ । तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व विविध कार्यक्रम गरि मनाउन लागिएको हो ।
पर्वको अवसरमा आज दिउँसो काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ घेदुङले बृहत तामाङ सांस्कृतिक महोत्सव आयोजना गरिएको छ ।
महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।
तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ । यस वर्षको पर्वमा सरकारले सार्वजनिक बिदा दिने गरेको छ ।