नेपाल बैंकको नाफा घट्यो |
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नेपाल बैंकको नाफा घटेको छ । यसअवधिमा बैंकको खुद नाफा १७.३९% ले घटेर १ अर्ब १७ करोड ६ लाख ५५ हजार रुपैयाँ कायम भएको छ । गत वर्षको यसैअवधिमा बैंकले १ अर्ब ४१ करोड ७० लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यता, पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा भने १९ करोड ८३ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
खुद ब्याज आम्दानी २७.२४% ले बढेर ३ अर्ब ८४ करोड ८८ लाख ७४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा यसले ३ अर्ब २ करोड ४९ लाख ३० हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । सञ्चालन नाफा भने ७.३८% ले घटेर १ अर्ब ५१ करोड ४५ लाख ८५ हजार रुपैयाँमा झरेको छ । गत वर्ष उक्त नाफा १ अर्ब ६३ करोड रुपैयाँ भन्दा धेरै थियो । यसको इम्पेयरमेन्ट चार्ज ३२.१८% ले बढेर ५१ करोड २१ लाख पुगेको छ । गत वर्ष बैंकले उक्त चार्ज बापत ३८ करोड ७४ लाख रुपैयाँ छुट्याएको थियो ।
इम्पेयरमेन्ट चार्ज बढ्दा र सञ्चालन नाफामा कमी आउँदा यस बैंकको नाफामा गिरावट आएको हो । पुस मसान्तसम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७४ पैसाले घटेर १५ रुपैयाँ ९३ पैसा पुगेको छ । गत वर्षको यसैअवधिमा बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ६७ पैसा थियो । प्रतिसेयर नेटवर्थ २३८ रुपैयाँ ०२ पैसा छ । खराब कर्जा अनुपात ३.११% पुगेको छ ।