कृषि विकास बैंकको नाफा घट्यो |
काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा बैंकको खुद नाफा १०९.०६% ले घटेको छ । यस बैंकले पुस मसान्तसम्म १२ करोड ८९ लाख ३३ हजार रुपैयाँ घाटा व्यहोरेको हो । गत वर्षको यसैअवधिमा भने बैंकले १ अर्ब ४२ करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको इम्पेयरमेन्ट चार्च बढेकाले खुद नाफा घटेको हो । साथै, सञ्चालन नाफामा पनि उल्लेख्य गिरावट आएको छ । यसले पनि नाफा घटाउन सहयोग पुर्याएको हो ।
यसअवधिमा यसको सञ्चालन घाटा ११ करोड १५ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष सञ्चालन नाफा २ अर्ब ८ करोड रुपैयाँ थियो । यता, खुद ब्याज आम्दानी पनि ०.३६% ले घटेर ३ अर्ब ७२ करोड ९२ लाख ४७ हजार रुपैयाँ कायम भएको छ । कृषि बैंकको खराब कर्जा २.०८% बाट बढेर ४.५२ % पुगेको छ ।
बैंकले इम्पेयरमेन्ट चार्ज बापत २ अर्ब १७ करोड रुपैयाँ छुट्याएको छ । यो गत वर्षको भन्दा २५०% ले धेरै हो । जसका कारण बैंकको नाफा ऋणात्मक देखिएको हो । पुस मसन्तसम्म आइपुग्दा वितरणयोग्य नाफा भने २ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । दोस्रो त्रैमाससम्म प्रतिसेयर आम्दानी ४ रुपैयाँ ४३ पैसा नोक्सानीमा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०९ रुपैयाँ ८२ पैसा छ ।