ग्लोबल आइएमई बैंक र नीलकण्ठ नगरपालिकाबीच सम्झौता | बैंकबाट उद्यमशील कर्जा लिँदा नगरपालिकाबाट व्याज अनुदान पाइने

काठमाडौं । नीलकण्ठ नगरपालिकाले उद्यमशील कर्जा लिनेलाई ब्याज अनुदान दिने भएको छ । ग्लोबल आईएमई बैंक लिमिटेड र नीलकण्ठ नगरपालिका बीच ब्याज अनुदान दिने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा नीलकण्ठ नगरपालिकाको तर्फबाट नगर प्रमुख भीमप्रसाद ढुंगाना र बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले हस्ताक्षर गरे ।
नीलकण्ठ नगरपालिकाको ‘मेयर उद्यमशीलता विकास कार्यक्रम’ अन्तर्गत उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम लिएका नगरवासीहरुलाई व्यावसायिक बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, माछापालन, विभिन्न फलफूलहरुको उत्पादन लगायत अन्य लघु उद्यमहरु गर्नेहरुले कर्जा पाउनेछन् ।
समझादारी पत्र हस्ताक्षर कार्यक्रममा बैंकको तर्फबाट वित्तीय साक्षरता कार्यक्रम समेत आयोजना गरिएको थियो ।