पडसरीमा शनिबारदेखि माघी महोत्सव हुने |
भैरहवा । २६४७ औं थारु लवा वर्ष एवम् माघी पर्वको अवसरमा रुपन्देहीमा माघी महोत्सव हुने भएको छ । आगामी माघ ७ गते ओमसतिया गाउँपालिका वडा नम्बर २ पडसरीमा महोत्सव हुन लागेको हो ।
थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति रुपन्देहीको आयोजना तथा थारु कल्याणकारिणी सभा ओमसतिया गाउँपालिकाको सह–आयोजनामा हुन लागेको महोत्सवको पूर्व सन्ध्यामा माघ ६ गते शुक्रबार बिहान रक्तदान कार्यक्रम हुने र माघ ७ गते शनिबार दिउँसो पूर्व गृहमन्त्री बालकृष्ण खाणले महोत्सवको उद्घाटन गर्ने भएका छन् ।
थारुको पहिचान, खानाका परिकार देखाउन र प्रचार प्रसार गर्न महोत्सवको आयोजना गरिएको थारु कल्याणकारिणी सभा रुपन्देहीका अध्यक्ष सतिस कुमार चौधरीले बताए ।
थारु भाषा, कला संस्कृति पहिचान, न्याय समानता, अधिकार भन्ने नाराका साथ मनाउन लागिएको महोत्सवमा गायक मिलन चौधरी, धनश्याम सेञ्चुरी, दिपेन चौधरी, गायिका उमा चौधरी लगायतको प्रस्तुति रहने ओमसतिया गाउँपालिका वडा नं. ३ का अध्यक्ष प्रकाश सिंह चौधरीले बताए ।
लुम्बिनी प्रदेशका ६ जिल्ला पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियाका थारु बस्ती रहेको छ । थारु बस्तीमा युवायुवती माघीमा मघौटा, सखिया र हुरदङ्गा नाच नाच्ने गर्छन् । तराईमा अहिले धेरै मिश्रित समुदाय बस्न थालेको छ । बसाई सरेर आएका अन्य समुदायले पनि यो पर्व उस्तै रमाइलो गरी मनाउन थालेका छन् ।