लाभांश प्रस्ताव पारित गर्न शिखर इन्स्योरेन्सले बोलायो साधारण सभा |
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। इन्स्योरेन्सले माघ २५ गते, बुधबार, आफ्नो केन्द्रिय कार्यालय, शिखर बिज सेन्टर, थापाथलीमा बिहान ११ बजे, १७ औँ तथा १८ औँ वार्षिक साधारण सभा बोलाएको हो।
सभाले हाल कायम चुक्ता पूँजीको १६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, अन्य कुनै बीमा कम्पनीसँग मर्जर वा एक्विजिशन सम्बन्धि र प्रबन्धपत्र तथा नियमावली संशोधन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्तिबारे बीमा ऐन २०७९ बमोजिम साधारण सभामा जानकारी दिने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले माघ १७ गतेदेखि साधारण सभा सम्पन्न नहुन्जेलसम्मका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार माघ १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउनुका साथै इन्स्योरेन्सले वितरढा गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।