उद्योगी व्यवसायीहरुका विद्यमान समस्या निकारणका लागि सरकारका उच्च पदस्थ कर्मचारीहरु समक्ष आग्रह |

काठमाडौं । मोरङ व्यापार संघले चर्को बैंक व्याजदर, प्रतिकूल बैंकिङ नीति, लोडसेडिङ्ग, आयात तथा भन्सार सम्बन्धि जटिलताहरु लगायत उद्योगी व्यवसायीहरुका विद्यमान विभिन्न समस्याहरु बारे सरकारका उच्च पदस्थ अधिकारीसामु ध्यानाकर्षण गराई समाधानका निम्ति अग्रसरता लिन आग्रह गरेको छ ।
संघका अध्यक्ष नवीन रिजाल, नेपाल उद्योग परिसंघ प्रदेश नं. १ का अध्यक्ष भीम घिमिरे लगायतले बिहीबार अर्थमन्त्री माननीय विष्णु प्रसाद पौडेल, अर्थ सचिव तोयम राया, राजस्व सचिव डा. रामप्रसाद घिमिरे, पर्यटन सचिव सुरेश अधिकारी लगायत नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुसँग भेटघाट गरेको थियो ।
भेटघाटका क्रममा मोरंग व्यापार संघका अध्यक्ष रिजालले विद्यमान चर्को बैंक व्याजदर, प्रतिकूल बैंकिङ नीति र समसामयिक समस्याहरु तत्कालै निराकरण गरिदिन पुनः पहल गर्नुका साथै भारत सरकारले नेपाललाई ५०,००० मेट्रिक टन गहुँको कोटा निर्धारण गरेता पनि नेपाल सरकारले नेपाली उद्योगीहरुलाई सो कोटा बाँडफाँड गर्न नसकेको हुँदा गहुँमा आश्रित नेपाली उद्योगहरु प्रभावित भई बन्द हुने अवस्थामा रहेको बारे अवगत गराए । अध्यक्ष रिजालले सो कोटा बाँडफाँडका सम्बन्धमा तत्कालै आवश्यक कदम चाल्न आग्रह गरेका थिए ।
सो क्रममा अर्थसचिवले नेपाली उद्योगहरुलाई गहुँको कोटा निर्धारण गर्ने कार्यलाई शिघ्रताका साथ अघि बढाइने आश्वासन दिएका छन् । चर्को बैंक व्याजदर तथा बैकिङ नीति सम्बन्धि समस्याहरु निराकरणका लागि आवश्यक कार्यहरु अघि बढिरहेको जानकारी गराउँदै सोको समाधान पनि छिट्टै हुने बताएका छन् ।
भेटघाटका क्रममा मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजाल, नेपाल उद्योग परिसंघ प्रदेश नं. १ का अध्यक्ष भीम घिमिरे सहित परिसंघका सदस्यहरु गिरिजा सारडा र राजेन्द्र राठीको उपस्थिति रहेको थियो ।