गभर्नर अधिकारी आइएमएफको साउथ एसियाज् पाथ टू रिसाइलेन्ट ग्रोथ विषयक सम्मेलनमा सहभागी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्युतीय कारोबारले सम्पत्ति शुद्धीकरण निवारणमा टेवा पुगेको बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले आयोजना गरेको साउथ एसियाज् पाथ टू रिसाइलेन्ट ग्रोथ विषयक उच्चस्तरीय सम्मेलनमा सहभागी हुँदै उनले सो कुरा बताएका हुन् ।
कार्यक्रममा विशेषज्ञ वक्ताका रूपमा उपस्थित गभर्नर अधिकारीले कोभिड–१९ पछि नेपालमा विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य प्रगति भएको उल्लेख गर्दै यसबाट पारदर्शिता र सुशासन अभिवृद्धि तथा सम्पत्ति शुद्धीकरण निवारणमा समेत विशेष टेवा पुगेको धारणा समेत राखेका छन् ।
साथै, उनले पछिल्लो समय विश्व भू-राजनीतिमा देखिएको असन्तुलनलाई अवसरको रुपमा लिएर आर्थिक रुपान्तरणमा लाग्नुपर्ने बताएका छन् । उनले विश्व भू–राजनीतिमा देखिएको असन्तुलनलाई अवसरका रूपमा लिई विदेशी विनिमय सञ्चिति, राजस्व तथा उपभोगका लागि विप्रेषणमा निर्भर रहेको नेपाली अर्थतन्त्रको संरचनात्मक सुधारमार्पmत मुलुकलाई दिगो आर्थिक वृद्धिको बाटोतर्पm लैजानुपर्ने आवश्यकता औँल्याए ।
सोही कार्यक्रममा भारतीय रिजर्भ बैंकका गभर्नर शक्तिकान्त दासले विशेष वक्ताका रुपमा सम्बोधन गर्दै सार्क मुलुकले झेल्नुपरेका वर्तमान आर्थिक चुनौतीका विषयमा धारणा राखे । मूल्य वृद्धि नियन्त्रण, बाह्य ऋणको जोखिम व्यवस्थापन, उत्पादकत्व वृद्धि, इन्धन सुरक्षा तथा सार्क क्षेत्रमा हरित अर्थतन्त्र निर्माणका लागि समन्वयलगायतका विषय सार्क क्षेत्रको नीतिगत प्राथमिकतामा पर्नुपर्ने आवश्यकतामा उनले जोड दिए । सम्मेलनमा अन्तर्राष्ट्रिय मुद्रा कोषको उच्च अधिकारीसँगै सार्क राष्ट्रका केन्द्रीय बैंकका गभर्नरहरूको सहभागिता रहेको थियो ।