मुक्तिनाथ बैंकले निरन्तरता दियो कृषि पेशालाई सम्मानित पेशा बनाउने अभियान
काठमाडौं । मुक्तिनाथ विकास बैंकले बहुउद्देश्यीय कृषि सहकारीमार्फत जनसमुदायलाई समेटी उद्यमशिता विकास गर्ने र कृषि पेशालाई सम्मानित पेशाको रुपमा विकसित गराउने अभियानलाई निरन्तरता दिएको छ।
यसै क्रममा बैंकले नवलपरासी जिल्लाको हुप्सेकोटमा स्थानीय समाजसेवी ओम घर्ती मगरको सहजीकरणमा स्थानीय कृषक टोप बहादुर सेनको अध्यक्षतामा हुप्सेकोट मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारी संस्थाको नाममा आम जनभेलामार्फत तदर्थ समिति गठन गरी सहकारी दर्ता प्रकृया अघि बढाउन निर्णय गरेको छ।
मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष भरतराज ढकालको अध्यक्षता र हुप्सेकोट गाउँपालिका प्रमुख लक्ष्मी देवी पाण्डेको प्रमुख अतिथ्यतामा आयोजित आम जनभेलामा सम्बन्धित वडाका अध्यक्ष, स्थानीय बुद्धिजीवी, समाजसेवी, कृषक, उद्यमीलगायत स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा मुक्तिनाथ विकास बैंकको तर्फबाट समुदाय स्तरिय सहकारी शिक्षा र मुक्तिनाथ कृषि कम्पनीको तर्फबाट कृषि प्रविधि हस्तान्तरण साक्षरता प्रशिक्षण पनि सञ्चालन भएको थियो।
प्रशिक्षणलाई मुक्तिनाथ कृषि कम्पनीका कर्मचारी रामशरण तिम्लसीना, अनुज अधिकारी र मुक्तिनाथ विकास बैंकका कर्मचारी सन्तोष रोकाले सहजीकरण गरेका थिए।
सहकारी दर्ता पछि उक्त सहकारीले स्थानीय कृषक तथा उद्यमीलाई मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनीसँग जोड्ने पुलको काम गर्ने बताइएको छ।
सहकारीको माध्यमबाट उत्पादकदेखि उपभोक्तासम्मको मूल्य श्रृंखला निर्धारण हुनेछ।
सहकारीमा आबद्ध शेयर सदस्यहरुलाई आफ्नो परियोजना सञ्चालनका लागि आवश्य पुँजीको व्यवस्था मुक्तिनाथ विकास बैंकले सहकारी मार्फत उपलब्ध गराउनेछ भने कृषकहरुलाई आवश्यक कृषि सम्बन्धी तालिम, प्रशिक्षण, बिउबिजन, विषादी लगायतका उपजहरू र आवश्यक प्रविधिक सामाग्री तथा परामर्शहरू मुक्तिनाथ कृषि कम्पनीले सहकारीमार्फत उपलब्ध गराउनेछ।
साथै कृषक तथा उद्यमीहरूले उत्पादन गरेका सम्पूर्ण सामाग्रीहरू सहकारीमार्फत संकलन गरी मुक्तिनाथ कृषि कम्पनीले उपभोक्तासम्म पुर्याउने कामको जिम्मा लिने कम्पनीको भनाइ छ।