सिड्नी आउँदै नेपथ्य |

काठमाडौं । लोकरक ब्याण्ड नेपथ्यले अष्ट्रेलियाको सांगीतिक यात्रा गर्ने भएको छ।
नेपथ्यले पाँचौ पटक अष्ट्रेलिया यात्रा गर्न लागेको हो। त्यहाँ बसोबास गर्दैआएका नेपालीहरुको चाहना र प्राथमिकताको सम्मान गर्दै नेपथ्यले आगामी फेब्रुअरी १० मा सिड्नीमा कन्सर्ट गर्दै अष्ट्रेलिया यात्रा सुरू गर्न लागेको हो।
केही दशकयता नेपालका विद्यार्थीको पहिलो रोजाई रहेको अष्ट्रेलियामा नेपाली संगीतको स्वादलाई आफूसँगै बोकेर गएका तिनै विद्यार्थीहरुको चाहनालाई ध्यानमा राखेर नेपथ्यले अष्ट्रेलिया यात्रालाई उच्च प्राथमिकता दिँदै आएको छ।
नेपथ्य ब्याण्डले आगामी १० फेब्रुअरीमा सिड्नीको मुर पार्कको होर्डन प्याभेलियनमा विशेष प्रस्तुती दिने तय भएको आयोजक रोयल नेपाल इेभन्ट्सका प्रदिप पाठकले जानकारी दिए।
५५ सय क्षमताको उक्त हलमा विश्वका चर्चित गायकहरूले कन्सर्ट गर्दै आएका छन्।
अहिलेसम्म पचास प्रतिशत टिकट बिक्री भइसकेको भन्दै उनले केही दिनमै हलमा पूर्ण क्षमताको टिकट बिक्री हुने बताए।
‘अहिलेसम्म सिड्नीमा नेपथ्यको सबै कार्यक्रम हाउसफुल भएको कीर्तिमान छ, यो पटक पनि त्यस्तै हुनेछ’, उनले भने।
हालै नेपालको पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मबाट देश दौडाहा गरेको नेपथ्य केही समयपछि अष्ट्रेलिया आउन लागेको हो।