एक वर्षमै ४५ दशमलव ४० प्रतिशतले बढ्यो जीवन बीमा गर्नेको सङ्ख्या |
काठमाडौं । बीमाको दायरा बढ्न नसकेको भन्ने चिन्ता व्याप्त रहेको बेला एउटा सुखद तथ्याङ्क देखिएको छ। त्यो हो, गएको एक वर्षको अवधिमा अवधिमा कुल जीवन बीमालेख ४५ दशमलव ४० प्रतिशतले बढेको खबर । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार अघिल्लो वर्षको मङ्सिर मसान्तदेखि यस वर्षको मङ्सिर मसान्तसम्म बीमालेख सङ्ख्या ४३ लाख ६७ हजार ५८ ले बढेको हो ।
गत वर्षको मङ्सिर मसान्तमा कुल बीमालेख सङ्ख्या ९६ लाख १९ हजार ४४७ रहेकोमा अहिले २०७९ मङ्सिर मसान्तसम्म ४५.४० प्रतिशतले बढेर एक करोड ३९ लाख ८६ हजार ५०५ पुगेको छ ।
प्राधिकरणका अनुसार कुल निर्जीवन बीमालेख भने घटेको छ । गत वर्षको मङ्सिर मसान्तसम्म १२ लाख ४८ हजार १९२ बीमालेख रहेकोमा यस वर्षको सोही अवधिमा उक्त बीमालेख ८ दशमलव ०९ प्रतिशतले घटेर ११ लाख ४७ हजार २६४ पुगेको छ ।
म्यादी, लघु म्यादी र वैदेशिक रोजगार बीमा, जीवन बीमालेख बाहेक जीवन बीमालेख सङ्ख्यामा पनि ४१.३८ प्रतिशतले वृद्धि भएको । यस अवधिमा जीवन बीमालेख सङ्ख्या ५३ लाख ९० हजार ४५५ पुगेको छ भने म्यादी र लघु म्यादी जीवन बीमालेखको सङ्ख्या ७३ लाख ४६ हजार २८८ पुगेको छ । गत वर्षको सोही अवधिमा म्यादी, लघु म्यादी जीवन बीमालेख सङ्ख्या ९० लाख ९ हजार १५३ रहेको थियो ।
त्यस्तै, वैदेशिक रोजगार बीमा सङ्ख्यामा पनि यस वर्ष १०४.७८ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको मङ्सिर मसान्तसम्म ६ लाख १० हजार २९४ बीमालेख रहेकोमा यस वर्ष बढेर १२ लाख ४९ हजार ७६२ पुगेको छ ।
प्राधिकरणका अनुसार यस अवधिमा कुल जीवन बीमाशुल्क सङ्कलनमा पनि २ दशमलव ६४ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष ७३ अर्ब ५५ करोड ६३ लाख बीमा शुल्क सङ्कलन भएकोमा यस वर्षको सोही अवधिमा उक्त बीमा शुल्क सङ्कलनमा वृद्धि भएसँगै ७५ अर्ब ४९ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, जीवन बीमाशुल्क सङ्कलनमा पनि २ दशमलव ३९ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष ५८ अर्ब १२ करोड ९३ लाख बीमा शुल्क सङ्कलन भएकोमा यस वर्षको सोही अवधिमा उक्त बीमा शुल्क सङ्कलनमा वृद्धि भएसँगै ५९ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ पुगेको छ ।
निर्जीवन बीमाशुल्क सङ्कलनमा पनि ३.५८ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष मङ्सिर मसान्तसम्म १५ अर्ब ४२ करोड ६९ लाख रुपैयाँ शुल्क सङ्कलन भएकोमा यस वर्ष १५ अर्ब ९७ करोड ८४ लाख रुपैयाँ बीमा शुल्क सङ्कलन भएको छ ।
यस अवधिमा म्यादी, लघुम्यादि र वैदेशिक रोजगार जीवन बीमालेख बाहेक पाँच प्रतिशत घटाएर लिएको बीमालेखको सङ्ख्या ५१ लाख २० हजार ९३२ रहेको छ । त्यस्तै, पाँच प्रतिशत घटाएर लिएको म्यादी जीवन बीमालेख सहितको सङ्ख्या १ करोड २० लाख ९९ हजार ९०६ रहेको छ । गत वर्षको सोही अवधिमा उक्त बीमालेख सङ्ख्या ८५ लाख ५८ हजार ६९५ रहेको थियो ।
यसै गरी, म्यादी, लघु म्यादी र वैदेशिक रोजगार बीमा जीवन बीमालेख बाहेक बीमाको दायरामा आएको जनसङ्ख्या १६.८४ प्रतिशत रहेको छ । म्यादी, लघु म्यादी र वैदेशिक रोजगार बीमा जीवन बीमासहितको बीमाको दायरामा आएको जनसङ्ख्या ३९.७८ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा २८.६७ प्रतिशत जनसङ्ख्या रहेको थियो ।
साथै, म्यादी र लघु म्यादी बीमा जीवन बीमालेख सहित बीमाको दायरामा आएको जनसङ्ख्या ४३.८९ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा बीमाको दायरामा आएको म्यादी र लघु म्यादी बीमा जीवन बीमालेख जनसङ्ख्या ३०.७२ प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ ।
प्राधिकरण अनुसार बीमा कम्पनीहरूको कार्यालयको सङ्ख्यामा पनि ३.३५ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष बीमा कम्पनीका कार्यालयहरू तीन हजार २४९ रहेकोमा यस वर्ष ३ हजार ३५८ पुगेका छन् ।
त्यस्तै, यस अवधिमा बीमा कम्पनीका कर्मचारीको सङ्ख्यामा पनि २.३१ प्रतिशतले वृद्धि भएर ११ हजार ७१७ जना पुगेका छन् । गत वर्षको सोही अवधिमा बीमा कम्पनीहरूमा ११ हजार ४५२ कर्मचारी रहेको तथ्याङ्कमा उल्लेख छ ।