प्रभु सेलेक्ट फण्ड मंसिरमसान्तसम्म ३१ लाखभन्दा बढी नाफामा |
काठमाडौं । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड मंसिर मसान्तसम्म रू. ३१ लाख ३८ हजारभन्दा बढी नाफामा रहेको छ । कात्तिक मसान्तको तुलनामा योजनाको नाफामा बृद्धि भएको हो । कात्तिक मसान्तसम्म योजना रू. १० लाख ७३ हजारभन्दा बढी मात्र नाफामा रहेको थियो ।
मंसिरमा योजनाको खर्च बढेपनि आम्दानीमा बृद्धि भएकाले नाफा बढेको हो । कात्तिकमा रू. ७४ लाख ६१ हजार खर्च गरेको योजनाले मंसिरमा रू. ९२ लाख ८२ हजार खर्च गरेको हो । कात्तिकमा रू. ८५ लाख ३४ हजारभन्दा बढी आम्दानी गरेको योजनाले मंसिरमा रू. १ करोड २४ लाखभन्दा बढी आम्दानी गर्न सफल भएका हुन ।
मंसिरमा योजनाको प्राप्त भईसकेको आम्दानी रकम बढेको छ भने प्राप्त भइनसकेको आम्दानी रकम घटेको छ । जसको सकारात्मक प्रभाव योजनाको आम्दानीमा परेको हो ।
मंसिर मसान्तसम्म योजनाले धितोपत्रमा गरेको लगानीको मूल्य कमिसन सहित रू. ७५ करोड ३९ लाखभन्दा बढी रहेको छ । योजनाले धितोपत्रमा गरेको लगानीको परलमूल्य भन्दा बजारमूल्य कम रहेको छ । मंसिर मसान्तसम्म बैंक मुद्दती निक्षपेमा रू. १८ करोड २५ लाख लगानी गरेको योजनाको बैंक मुद्दती निक्षेप सहित कुल लगानी मूल्य रू. ७४ करोड ९५ लाखभन्दा बढी रहेको छ ।
सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको योजना सञ्चालनका लागि १२ करोड इकाई जारी गरेको थियो । मंसिरमा योजनाको प्रति इकाई खुद मूल्य रू. ९ दशमलव ८४ रहेको छ । यो मूल्य कात्तिक मसान्तसम्म रू. ९ दशमलव ८३ रहेको थियो ।