नेपाल पर्यटन विकास व्यवसायी संघको अध्यक्षमा पुनः तिवारी |

काठमाडौँ । नेपाल पर्यटन विकास व्यवसायी संघको अध्यक्षमा निराजन तिवारी सर्वसम्मत चयन भएका छन् । सोमबार ठमेलको होटल आर्टमा सम्पन्न संघको चौथौँ साधारण सभाले संस्थापक अध्यक्षसमेत रहेका तिवारीलाई पुनः सोही पदमा चयन गरेको हो ।
साधारण सभाले उपाध्यक्षमा अच्युत सिग्देल, सचिवमा भागवत सिंखडा, सहसचिवमा अमित वस्ती र कोषाध्यक्षमा भरतप्रसाद तिमिल्सिनालाई चयन गरेको छ । त्यस्तै राजु थपलिया, ऋषिराज उपाध्याय, नाती महर्जन र रिदीप श्रेष्ठ संघको कार्यकारिणी समितिमा निर्वाचित भएका छन् ।
साधारण सभाको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कर्मशका पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको पर्यटन उद्योगमा निजी क्षेत्रले पर्याप्तरुपमा लगानी गरिसकेको उल्लेख गर्दै त्यसको सञ्चालन र संरक्षणमा सरकार अगाडि बढ्नुपर्ने बताए । मन्त्री फेरिएसँगै पर्यटनसँग सम्बन्धित योजनाहरु परिवर्तन हुनेतर्फ सकेत गर्दै उनले कर्मचारीलाई कम्तिमा सात दिन विदा दिने गरी ‘पेएबल टुरिजम’ मा जोड दिन सुझाव दिए ।
संस्थाका अध्यक्ष निराजन तिवारीका अनुसार प्राध्यापक डाक्टर सोम प्रसाद खतिवडालाई मानार्थ सल्लाहकारमा मनोनित गरिएको छ । सो अवसरमा नेपालका लागि ग्रीसका अवैतानिक राजदूत विक्रमकाजी पाडेँ, नेपाल ट्राभल एण्ड टुर एशोसियसनका अध्यक्ष रमेश थापा, नेपाल माउन्टेनरिङ्ग एशोसियनका वरिष्ठ उपाध्यक्ष ठाकुराराज पाण्डेलगायतले पर्यटन क्षेत्रको उत्थानमा राज्यले गर्नुपर्ने काम निजी क्षेत्रले गरेको भन्दै नेपालले चीन र भारतका पर्यटकलाई लक्षित गर्नुपर्नेमा जोड दिए ।