चार कम्पनीको शेयरमूल्य समायोजन |

काठमाडौँ । पुस १४ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चार कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी अर्थात एचआईडिसीएल, मितेरी डेभलपमेन्ट बैंक, नेपाल बैंक र प्राइम कमर्सियल बैंकको शेयरमूल्य समायोजन भएको हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले यस दिन एचआईडिसीएलको ५ प्रतिशत, मितेरीको १२.३५ प्रतिशत, नेपाल बैंकको २ प्रतिशत र प्राइम कमर्सियलको ४ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात एचआईडिसीएलको मूल्य १७७ रुपौयँ १४ पैसा कायम भएको छ भने मितेरीको ३६४ रुपैयाँ ९३ पैसा, नेपला बैंकको २८० रुपैयाँ ८८ पैसा र प्राइमको २२० रुपैयाँ १० पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन दोस्रो बजारमा एचआईडिसीएलको शेयर १८६ रुपैयाँ, मितेरीको ४१० रुपैयाँ, नेपाल बैंकको २८६ रुपेयाँ ८० पैसा र प्राइमको २२८ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो।
यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।
एचआईडिसीएलले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सो प्रस्ताव पारित गर्न कम्पनीले पुस २६ गते मंगलबार अर्पण ब्याङ्कवेट, थापागाउँ, नयाँ बानेश्वरमा एघारौँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ।
यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितलाई अख्तियारी प्रदान गर्ने, कम्पनीको स्वतन्त्र सञ्चालक पदमा एक जना नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
मितेरी डेभलपमेन्ट बैंकले शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको १३ प्रतिशत लाभांश पारित गर्न पुस २७ गते, १७ औँ वार्षिक साधारण सभा डाकेको छ। बैंकले सुनसरी उद्योग वाणिज्य संघ, धरान, सुनसरीमा बिहान ११ बजे सभा डाकेको हो।
सभाले हाल कायम चुक्ता पूँजीको १२.३५ प्रतिशतका दरले हुन आउने ११ करोड १५ लाख ७३ हजार ३६६ रुपैयाँ ६७ पैसा बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६५ प्रतिशतका दरले हुन आउने ५८ लाख ७२ हजार २८२ रुपैयाँ ४६ पैसा बराबरको नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
यसका साथै सभाले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने सम्बन्धमा सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक समूहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ।
त्यसैगरी, नेपाल बैंक लिमिटेडले पुस २९ गते, ६३ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बैंकको प्रधान कार्यालय, धर्मपथ, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको २ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित गरी १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले लेखापरीक्षक नियुक्त गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
प्राइम कमर्सियल बैंक लिमिटेडले पुस २८ गते, कार्की ब्याङ्कवेट, बबरमहल, काठमाडौँमा पन्ध्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ४.९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
यसका साथै सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्ति सम्बन्धमा जानकारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना गरी ५ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।