अर्थतन्त्रको पुनरुत्थान सरकारको पहिलो प्राथमिकता–प्रधानमन्त्री प्रचण्ड |

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले मंगलबार बिहान औपचारिक भेटवार्ता गरेका छन् । भेटवार्तामा नवनियुक्त प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको पुनरुत्थान आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । प्रधानमन्त्रीले मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णयसमेत भैसकेको जानकारी गराएका छन् ।
अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने पनि प्रधानमन्त्रीले बताएको महासंघले जानकारी गराएको छ । प्रधानमन्त्री प्रचण्डको निजी निवासमा भएको भेटमा अध्यक्ष गोल्छाले उद्योग व्यवसाय सञ्चालनमा सबैभन्दा बढी समस्याको रुपमा देखापरेको चालु पुँजी कर्जा मार्गनिर्देशन कम्तीमा दुुई वर्ष स्थगन गर्न सुुझाव दिएका छन्् । साथै, हाल देखिएको तरलता संकुचनको समस्या समाधान गर्न केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुुझाव पनि राखेका छन् ।
यतिबेला अन्य कुरा भन्दा पनि मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाले नवगठित सरकारको सिंगो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्नेमा अध्यक्ष गोल्छाले जोड दिएका छन् । अर्थतन्त्रमा वहुुआयामिक असर परेको, मौद्रिक नीतिको समीक्षा मार्फत पनि समस्या सम्बोधन हुन नसकेको र विशेष गरी समग्र बैंकिङ समस्याको कारण उद्योगी व्यवसायी अत्यन्त कठीन अवस्थामा पुुगेकाले बाध्य भएर सडकमा आउने परिस्थिति बनेकाको गोल्छाले बताए ।
अध्यक्ष गोल्छाले प्रधानमन्त्रीबाट अर्थतन्त्रको संवेदनशीलता बुुझेर सोही अनुसार अर्थपूर्ण पहल हुने अपेक्षा निजी क्षेत्रले गरेको बताएका छन् । राजस्वले साधारण खर्चसमेत धान्न नसक्ने अवस्था आएको, मूल्यवृद्धि सात वर्षयताकै उच्च रहेको र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्र नै अहिले संकुचित हुँदै गएको यथार्थताका बारेमा गोल्छाले प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।
यता, प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रको समस्यालाई सरकारले गम्भीर रुपमा लिने उल्लेख गरेका छन् । प्रधानमन्त्रीले महासंघकातर्फबाट यसअघि दिइएको सुुझाव अध्ययन पनि गरिरहेको र यस विषयमा अर्थमन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रलाई पनि राखेर छिट्टै समस्या समाधानमा पहल गर्ने विश्वास दिलाएका छन् ।