अब विदेशबाट एकभन्दा बढी फोन ल्याए शुल्क, व्यक्तिगत मोबाइल ल्याउदा भन्सारबाट प्रज्ञापनपत्र लिनुपर्ने |

काठमाडौं । विदेशबाट व्यक्तिगत मोबाइल ल्याउदा भन्सारबाट प्रज्ञापनपत्र लिनुपर्ने भएको छ। अबदेखि विदेशबाट स्वदेश आउने यात्रुले आफुले चलाउने मोबाइल बाहेक आफ्नो साथमा ल्याउने मोबाइलको समेत भन्सारबाट प्रज्ञापनपत्र लिनैपर्ने व्यवस्था बनाएको हो।
आगामी पुस १५ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम पूर्णरूपमा लागू गर्ने तयारीसँगै एअरपोर्टबाट सर्वसाधारणले ल्याउने मोबाईलमा समेत कडाई गरिएको हो।
नयाँ व्यवस्थासँगै सर्वसाधारणले थप सास्ती व्यहोर्नुपर्ने धेरै निश्चित भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ताले एमडीएमएस लागूसँगै विदेशबाट आएका मोबाइल दर्ता गर्न प्रज्ञापनपत्र ल्याउनै पर्ने बताए। प्राधिकरणले भन्सार विभागको समन्वयमा यस्तो व्यवस्था गरिएको उनको भनाई छ।
प्राधिकरणको अनुसार विदेशमा खरिद गरेको मोबाइल नेपाल ल्याउदा सो फोन ल्याएको १५ दिन भित्र दर्ता गरिसक्नु पर्नेछ।
विदेशबाट ल्याएको आफुले चलाउने मोबाइल बाहेक एउटा मोबाइल भन्सार घोषणा गर्दा वा प्रज्ञापनपत्र लिँदा कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ। एक भन्दा बढी फोन ल्याएमा भन्सार तिर्नुपर्ने व्यवस्था मिलाईएको छ।
खासगरी विदेशबाट ल्याइएका आफुले चलाउने बाहेक एकभन्दा बढी मोबाइल ल्याएको छ भने शुल्क तिरेर प्रज्ञापन पत्र लिनु पर्ने बाध्यकारी व्यवस्था मिलाइएको छ। जसमा स्मार्टफोनका लागि पाँच प्रतिशत अन्त शुल्क र १३ प्रतिशत भ्याट लाग्ने भएको प्राधिकरणले जनाएको छ।