बुस्टर खोप लगाएकालाई पनि थप खोपको मात्रा दिने सरकारको तयारी |

काठमाडौं। सरकारले बुस्टर खोप लगाएका आफ्ना नागरिकलाई थप खोपको मात्रा दिने तयारी गरेको छ । कोभिड–१९ संक्रमणको जोखिम फेरि बढ्न सक्ने भन्दै बुस्टर डोज खोप लगाएकालाई थप खोपको मात्रा दिने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पहिलो र दोस्रो पूर्ण खोप लगाई बुस्टर डोज लगाएकालाई थप डोज दिने तयारी रहेको छ ।
मन्त्रालयलेकोरोना भाइरसको नयाँ भेरियन्ट बीएफ–७ को संक्रमण छिमेकी देश भारत र चीनमा बढिरहेकाले नेपालमा उक्त संक्रमण भित्रिन नदिन सबैलाई बुस्टर डोज लगाउने तयारी गरेको हो । मन्त्रालयले मापदण्ड तोकेका ५५ वर्षमाथिका वृद्धवृद्धा, दीर्घरोगीलगायतलाई प्राथमिकतामा राखेर यसअघि खोपको बुस्टर मात्रा लगाएकालाई थप मात्रा दिने तयारी गरिरहेको बताइएको छ ।
अहिले दुई मात्रा लगाएकालाई दिने बुस्टर खोपका लागि १५ लाख डोज मगाइएको र अबको दुई हप्तापछि खोप आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म बीएफ–७ भेरियन्ट पुष्टि नभए पनि चीन र भारतमा बढ्दै गएकाले खुला सिमाना र आवतजावतका कारण जोखिम रहेको मन्त्रालयले जनाएको छ ।