डिजिटल कारोबार पारदर्शिताको मेरुदण्ड हो: गभर्नर अधिकारी |

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाबाट डिजिटल वित्तीय साक्षरता कार्यक्रमको शुभारम्भ गरेको छ । दार्जुलाको सदरमुकाम खलङ्गामा आयोजित एक कार्यक्रमका बीच डिजिटल वित्तीय साक्षरताको शुभारम्भ गरिएको हो ।
कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समयमा विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको उल्लेख गर्दै डिजिटल कारोबारलाई थप प्रवद्र्धन र प्रोत्साहन गर्न उक्त कार्यक्रमको सुरुआत गरिएको बताए। “क्युआरबाट मात्र एक महिनामा ४२ लाखभन्दा बढी कारोबार भएको पाइएको छ। यो आँफैमा उत्साहजनक अवस्था हो । डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्नको निम्ति डिजिटल वित्तीय साक्षरता कार्यक्रमको सुरुआत हामीले गरेका हौँ ।” उनले बताए।
डिजिटल कारोबारलाई‘पारदर्शिताको मेरुदण्ड’को संज्ञा दिँदै गभर्नर अधिकारीले डिजिटल कारोबारबाट भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रवद्र्धनमा समेत टेवा पुग्ने धारणा राखेका छन्। नेपाल सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’लाई कार्यान्वयन गर्दै डिजिटल अर्थतन्त्रको विकासको निम्ति विद्युतीय भुक्तानी कारोबारलाई थप प्रभावकारी बनाउनुपर्ने उनले बताए।
डिजिटल कारोबारमा आउनसक्ने जोखिमप्रति सचेत रहन समेत उनले आग्रह गरेका छन्।
विद्युतीय भुक्तानी कारोबारलाई प्रवद्र्धन र प्रोत्साहन गर्ने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले पछिल्ला वर्षहरूमा यससम्बन्धी नीतिगत व्यवस्थालाई अवलम्बन गर्दै आएको छ ।
आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीतिमा चालु आर्थिक वर्षलाई ‘विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन वर्ष’ को रूपमा मनाउन आवश्यक संस्थागत समन्वय गरिने समेत उल्लेख गरिएको छ ।
यसैबीच, गभर्नर अधिकारीले आजै बैंक तथा वित्तीय संस्था, दार्चुला उद्योग वाणिज्य संघ र कृषि ज्ञान केन्द्र, दार्चुलाका प्रतिनिधिहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरी छलफल समेत गरेका छन् ।
उनले सुदूरपश्चिम प्रदेशस्थित वाणिज्य बैंकका प्रदेश प्रमुख र दार्चुलास्थित बैंक तथा वित्तीय संस्थाका शाखा प्रमुखसँग यस क्षेत्रको वित्तीय कारोबारको अवस्थाबारे प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिएका छन्। यसै गरी, उद्योग वाणिज्य संघका पदाधिकारीसँगको छलफलमा उनले दार्चुला जिल्लाको उद्यम÷व्यवसाय, भारु कारोबार र बैंक तथा वित्तीय संस्थाको सेवाबारे जिज्ञासा राखेका थिए।