तीन कम्पनीको शेयरमूल्य समायोजन |
काठमाडौं । पुस ८ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्जमा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन प्राइम लाइफ इन्स्योरेन्स, गरिमा विकास बैंक र नेपाल इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले यस दिन प्राइम लाइफको १३ प्रतिशत, गरिमा विकास बैंकको १३ प्रतिशत र नेपाल इन्स्योरेन्सको ८ प्रतिशत बोनस शेयर समायोजन गरेको हो।
समायोजनपश्चात प्राइम लाइफको शेयरमूल्य ५०३ रुपैयाँ ५४ पैसा कायम भएको छ भने गरिमाको ३३० रुपैयाँ ९७ पैसा र नेपाल इन्स्योरेन्सको ३८७ रुपैयाँ ९६ पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, दोस्रो बजारमा प्राइम लाइफको शेयर प्रतिकित्ता ५६९ रुपैयाँ, गरिमाको ३७४ रुपैयाँ र नेपाल इन्स्योरेन्सको ४१९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
यही समायोजित मूल्यलाई आधार मानेर सोमबार दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।
प्राइम लाइफ इन्स्योरेन्सले पुस २४ गते, अग्रवाल भवन, कमलपोखरीमा सभा डाकेको छ। सो सभा दिउँसो २ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा मर्जर समितिबाट पेश भएको एमओयूको मस्यौदा स्वीकृत गर्ने, डिडिए प्रयोजनार्थ लेखापरीक्षक, मूल्याङ्कनकर्ता नियुक्त गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, विद्यमान संस्थापक र सर्वसाधारण समूहको शेयर लगानी अनुपात ५१ः४९ कायम गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
त्यस्तै, गरिमा विकास बैंकले पुस २२ गते, शुक्रबार, होटल पोखरा ग्राण्ड, विरौटा, पोखरामा सोह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.५० प्रतिशत नगद लाभांश गरी कुल १४.५० प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, बैंकको अधिकृत पूँजी वृद्धि गरी ५ अर्ब २५ करोड कायम गर्ने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।
त्यसैगरी, नेपाल इन्स्योरेन्सले पुस २२ गते, शुक्रबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा ७४ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम रहेको चुक्ता पूँजी १ अर्ब ३७ करोड ८९ लाख ९५ हजार ८०६ रुपैयाँको ८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४२११ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, इन्स्योरेन्सको जारी तथा चुक्ता पूँजी सम्बन्धी व्यवस्था संशोधन गर्ने, उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई दिइएको सम्पूर्ण अधिकारलाई निरन्तरता प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ।