सुपरमाई हाइड्रोपावरको आइपीओमा वैदेशिक रोजगारीमा गएकाले आजसम्म आवेदन दिन सक्ने |

काठमाडौं । सुपरमाई हाइड्रोपावरको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज पुस ६ गतेसम्म आवेदन दिन सक्नेछन् । यता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि भने आइपीओमा आवेदन दिने म्याद थप भएको छ । स्थानीय बासिन्दाले कम्पनीको आइपीओमा पुस २१ गतेसम्म आवेदन दिन सक्नेछन् । तथापि, मागभन्दा बढी आवेदन प्राप्त भएमा सो अगावै निष्कासन तथा बिक्री बन्द गर्ने कम्पनीले जनाएको छ । सुपरमाई हाइड्रोपावरको आइपीओ मंसिर २१ गतेदेखि बिक्री खुला भएको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने ५० हजार कित्ता सेयर छुट्याइएको छ । उक्त सेयरमा आज बुधबार कार्यालय समयभित्र यसमा आवेदन दिन सकिन्छ । कम्पनीले स्थानीयलाई जारी पुँजी ५० करोड रुपैयाँको १०% अर्थात ५ करोड रुपैयाँ बराबरको सेयर बिक्रीमा ल्याएको हो । हाइड्रोपवारले १०० रुपैयाँ अंकित मूल्यमा ५ लाख कित्ता सेयर निष्कासन गरेको छ ।
कम्पनीले निष्कासन गरेको ५ लाख कित्ता मध्ये आयोजनाको अति प्रभावित क्षेत्रका बासिन्दालाई ४०% सेयर छुट्याएको छ । कम्पनीले सो क्षेत्रका स्थानियलाई २ लाख कित्ता सेयर छुट्याएको हो । यता, आयोजना अति प्रभावित क्षेत्र बाहेक इलाम जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानियका लागि बाँकी ६० % अर्थात, ३ लाख कित्ता निष्कासन गरेको छ ।
स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले सुपरमाईको आइपीओलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
स्थानिय बासिन्दाले गुडविल फाइनान्स, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र सुपरमाई हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछन् । यता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।