नेपालको पर्यटनकाबारे अस्ट्रियाका उच्च पदाधिकारीसँग छलफल |

काठमाडौं । अस्ट्रियन दूतावास, नयाँ दिल्ली भारतबाट नेपाल आएको राजदूत सहितको उच्च स्तरिय भ्रमण टोलीले नेपाल पर्यटन बोर्डमा बुधबार नेपालको समग्र पर्यटन र संकट व्यवस्थापनका विभिन्न विषयमा अन्तरक्रिया गरेको छ । सो अवसरमा दुवै पक्षबीच संकट व्यवस्थापनका लागि भविष्यमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले अस्ट्रियन राजदूत श्रीमती विजर क्याथरिना सहित अस्ट्रियाका उच्चस्तरीय प्रतिनिधिहरूका सदस्यहरुलाई स्वागत गर्दै नेपालको पर्यटन र संकटकालीन अवस्थामा नेपालले अबलम्बन गरेका नीति तथा कार्यक्रमबारे जानकारी गराएका थिए ।
‘नेपाल आउने पर्यटकलाई कुनै पनि समस्या नपरोस र परेको खण्डमा त्यसलाई सजह ढंगले समाधान गर्ने सकियोस भनेर बोर्डले नेपाल सरकारका विभिन्न निकाय तथा पर्यटनसंग सम्बन्धित संस्थाहरुसंगको समन्वय र सहकार्यमा संकट व्यवस्थापनको कार्य गरिरहेको छ’, उनले भने । यस्तै उनले नेपाल र अस्ट्रियाको प्राकृतिक विविधतामा समानता रहेको उल्लेख गर्दै जलवायु परिवर्तनले गरेको असरका विषयमा साझा धारणा र वकालत आवश्यक रहेको समेत बताए ।
अस्ट्रियन राजदूत विजर क्याथरिनाले पर्यटनमा संकट व्यवस्थापन महत्वपूर्ण कार्य भएको बताउँदै यस्ता विषयमा दुवै देशले अबलम्बन गरेका अनुभवहरु आदान प्रदान गर्न आवश्यक रहको धारणा राखेकी थिइन् । पर्यटन बोर्डका कार्यकारी सदस्य कृष्ण शाहले पर्यटकका लागि नेपाल सुरक्षित गन्तव्य भएको बताउँदै नेपाल आउने पर्यटकका लागि सूचना लिन र पाउन सहज होस भन्ने ढंगबाट बोर्डले विभिन्न कार्यहरु अगाडि बढाइरहको जानकारी दिए ।
बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले नेपालको पर्यटन सम्भावना र संकट व्यवस्थापनका लागि नेपालले चालेका कदमका बारेमा जानकाररुी दिँदै नेपालले गरेका तीनै कार्यबाट बोर्डले अन्तरराष्ट्रिय वान्डरलस्ट अर्वाड तथा प्यासिफिक एशिया ट्रावल एशोसिएन (पाटा)बाट प्रतिष्ठित ‘पाटा गोल्ड अवार्ड’ प्राप्त गरेको बताए ।
निर्देशक थापाले संकट व्यवस्थापनका लागि बोर्डको कार्यालयमा टुरिजम क्राइसिस म्यानेजमेन्ट सेल नै रहको जानकारी दिँदै कोभिड १९ को समयमा पनि बोर्डले विभिन्न देशका नागरिकहरुको उद्धारमा उल्लेखनीय कार्य गरेको बताए । कार्यक्रममा राजदूत क्याथरिना सहित नेपालका लागि अष्ट्रियाका मानार्थ वाणिज्य दूत राजेश बाबु श्रेष्ठ, अस्ट्रियन सरकारका विभिन्न उच्चअधिकारी,बोर्डका वरिष्ठ निर्देशक,निर्देशक, पर्यटक प्रहरीहरुको सहभागिता रहेको थियो ।