आजदेखि निफ्राको उर्जा ऋणपत्र बिक्री खुला |

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आज बिहीबार मंसिर २९ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी २० लाख इकाई सर्वसाधारणका लागि खुला गरेको हो ।
बैंकले ७ वर्ष अवधिको ‘निफ्रा उर्जा ऋणपत्र २०८५–८६’ जारी गरेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गरेको छ । यसमा वार्षिक ७% ब्याजदर दिने बैंकले जानकारी दिएको छ । यस ऋणपत्रमा पुस ४ गतेसम्म आवेदन दिन पाइनेछ ।
उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने पुस १४ गतेसम्म खुला रहनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।