प्रभु बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन |

काठमाडौं । प्रभु बैंकको लाभांश सुरक्षित गर्ने आज (मंसिर २९ गते) अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १ गते बुकक्लोज गर्दैछ।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
बैंकले हाल कायम चुक्ता पूँजीबाट ६.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित गरी १.५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सो लाभांश पारित गर्न बैंकले पुस १४ गते, बिहीबार एक्काइसौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बैंकको केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौँमा बिहान ९ बजे शुरु हुनेछ।
यसका साथै सभाले प्रभु बैंकले सेञ्चुरी बैंकलाई १ बराबर १ अनुपात अर्थात सेञ्चुरी बैंकको १०० कित्ता बराबर प्रभु बैंकको १०० कित्ता शेयर अनुपातमा एक्वायर गर्ने, एक्विजिशन प्रयोजनार्थ भएका सम्पूर्ण कार्य अनुमोदन गर्ने लगायतका विशेष प्रस्ताव पनि पारित गर्नेछ।