रोजगारदाता परिषद्का सभापतिबाट आइएलओ क्षेत्रीय बैठकलाई सिंगापुरमा संवोधन |

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासघले अन्तर्राष्ट्रिय श्रम संगठनलाई कोभिडपछिको चुनौतिको सामना गर्नका लागि नेपालका उद्योगी व्यवसायीहरुलाई सहयोग गर्न आग्रह गरेको छ। महासंघका रोजगारदाता परिषद् सभापति एवंं उपाध्यक्ष रामचन्द्र संघाईले कोभिड महामारीपछि नेपालले पनि विश्वव्यापी मन्दीको प्रभावको सामना गरिरहेको बताउँदै सहयोग गर्नका लागि आग्रह गरेका हुन्।
अन्तर्राष्ट्रिय श्रम संगठनको एशिया–प्रशान्त क्षेत्रीय बैठकको प्लेनरी सेसनलाई बुधबार सिंगापुरमा सम्बोधन गर्दै संघाईले कोभिडपछि नेपाली अर्थतन्त्रले निरन्तर चुनौतीहरूको सामना गरिरहेको र त्यसको पुुष्टि अर्थतन्त्रका सूचकहरूले देखाइरहेको स्पष्ट पारे।
सम्बोधनका क्रममा उपाध्यक्ष संघाईले सन २०१६ मा इण्डोनेसियाको बालिमा सम्पन्न एशिया–प्रशान्त क्षेत्रको १६ औं बैठकपछि थुप्रै परिवर्तन भएको खासगरी महामारी र यसबाट परेको प्रभाव, सिर्जित चुनौती र कोभिडबाट भएको नोक्सानीको छिटो क्षतिपूर्ति पाउन कठिनाइ भइरहेको पनि बताए। विभिन्न कठिनाइका वावजुद नेपालको निजी क्षेत्रले व्यवसायको विकास, रोजगारी सिर्जना, सामाजिक सुरक्षा, औद्योगिकरण, साना तथा मझौला उद्योगको विकास एवं कार्यवातावरणको सुधारको क्षेत्रमा जोड दिई काम गरिरहेको पनि संघाइले जानकारी दिए।
निजी क्षेत्रका सबै गतिविधिहरु दिगो विकासको लक्ष्य प्राप्तिलाई ध्यानमा राखी संचालन भइरहेको पनि उनले उल्लेख गरे। ‘हाम्रा सम्पूर्ण गतिविधिहरू दिगो विकास लक्ष्यहरू हासिल गर्नेतर्फ लक्षित छन् र त्यसको कार्यान्वयनका लागि हामी सरकार र ट्रेड युनियनहरूसँग सामाजिक संवादमार्फत सहकार्य गरिरहेका छौं,’ सभापति संघाईले भने।
सञ्चार प्रविधिको बढ्दो प्रयोगले कामको स्वरुपमा परिवर्तन भइरहेको र यसबाट श्रम बजारमा प्रभाव पर्नुको साथै सीपयुक्त जनशक्तिको आवश्यकता रहेको धारणा राख्दै उनले उत्पन्न चुनौतीको सामना गर्न तथा व्यवसायलाई दिगो बनाउन नीतिगत सुधारको आवश्यकतामा जोड दिए। एशिया प्रशान्त क्षेत्रका देशहरू आर्थिक वृद्धिका विभिन्न चरणहरूमा रहेका र, यस क्षेत्रको आर्थिक वृद्धिलाई प्रवद्र्धन गरी बलियो अर्थतन्त्र निर्माण गर्नका लागि यस प्रकारको क्षेत्रीय बैठक र राष्ट्रहरूबीचको सहकार्य एशिया प्रशान्त क्षेत्रका लागि अत्यन्तै महत्वपूर्ण र लाभदायी हुने धारणा संघाईको थियो।
उक्त बैठकलाई नेपाल सरकारको प्रतिनिधिको रुपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र ट्रेड युनियनका तर्फवाट संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष प्रेमलकुमार खनालले संवोधन गरेका थिए। एशिया प्रशान्त क्षेत्र र अरव राष्ट्रका सरकार, रोजगारदाता र ट्रेडयूनियन प्रतिनिधिहरूको सहभागिता रहेको सो बैठक मंसिर २३ गतेसम्म चल्ने छ।